हेटौँडा सामुदायिक आँखा अस्पताल

हेटौँडाः हेटौँडा सामुदायिक आँखा अस्पतालको सेवा प्रारम्भ भएको १६ बर्ष पूरा भएर १७ औं बर्षमा प्रवेश गरेको छ । १६ बर्षको अवधिमा झण्डै ९ लाखले सेवा लिएका छन् ।

२०६५ मंसीर ५ गते अष्ट्रेलियाली राजदुत ग्राहम लेडले हेटौँडा सामुदायिक आँखा अस्पतालको उद्घाटन गर्नुभएको थियो । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको पहिलो शाखाको रुपमा हेटौँडा सामुदायिक आँखा अस्पताल स्थापना भएको हो । हेटौडा पश्चात भक्तपुर र निजगढमा पनि अस्पताल स्थापना गरी सञ्चालन भइरहेको छ ।

स्थापनाकालदेखि हालसम्म अस्पतालमा ८ लाख ९३ हजार जनाले आँखा जाँच गराएको हेटौँडा आँखा अस्पतालका प्रबन्धक सुधीर श्रेष्ठले जानकारी दिनुभएको छ । ६० हजार जना मोतिविन्दुका बिरामीको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । विभिन्न क्षेत्रमा निशुल्क आँखा शिविर संचालन गरेर २२ हजारको निशुल्क शल्यक्रिया गरिएको छ । अस्पतालमा आँखा जाँच, चश्मा जाँच, शल्यक्रिया सेवा, औषधि सेवा प्रदान गरिँदै आएको छ । यसका साथै आँखा स्वास्थ्य सम्बन्धी जनचेतना प्रदान गर्न विभिन्न समयमा शिक्षक, स्वास्थ्य कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका, कल–कारखानाका कामदार लगात विभिन्न समुहलाई अभिमुखीकरण तथा गोष्ठी आयोजना गर्दै आएको छ ।

अस्पतालमै पुगेर आँखा उपचार सेवा लिन नसक्नेहरुलाई लक्षित गरी ग्रामीण क्षेत्रमै निशूल्क आँखा शिविर पनि आयोजना गर्दै आइरहेको छ । आँखा अस्पतालको प्राविधिक सहयोगमा रोटरी, लायन्स, जेसीज जस्ता संघ, संस्थाले ग्रामीण भेगमा पुगेर निशूल्क आँखा जाँच शिविरको आयोजना गर्दै मोतिविन्दुको निशूल्क शल्यक्रिया सेवा समेत प्रदान गर्दै आएको छ ।

हेटौँडा सामुदायिक आँखा अस्पतालले थाहा नगरपालिका, मनहरी गाँउपालिका र बागमती गाँउपालिकासँग समन्वय गरेर ती पालिकामा सामुदायिक आँखा केन्द्र नै संचालन गरेको छ । त्यसैगरी ईन्द्रसरोवर गाँउपालिका, कैलाश गाँउपालिका र बकैया गाउँपालिकासँगको सहकार्यमा ग्रमीण आँखा केन्द्र पनि संचालन गरेर त्यस भेगका जनतालाई आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको प्रबन्धक सुधीर श्रेष्ठले बताउनुभयो । राक्सिराङ, भीमफेदी र मकवानपुरगढी गाउँपालिकासँग पनि ग्रामीण आँखा केन्द्र स्थापनका लागि छलफल भइरहेको श्रेष्ठले जानकारी दिनुभएको छ ।

यसैबीच हेटौँडा सामुदायिक आँखा अस्पताल परिसरमा शल्यक्रिया सेवाकै लागि भनेर छुट्टै शल्यक्रिया भवन निर्माण कार्य सुरु हुँदैछ । न्यून दृष्टि भएका बालबालिकाहरुका लागि पनि छुट्टै सेवा प्रदान गर्ने योजना रहेको अस्पतालले जनाएको छ । हेटौँडा सामुदायिक आँखा अस्पतालमा अहिले ३ जना नेत्र विशेषज्ञसहित ४० जना अस्पतालमा प्रत्यक्ष संलग्न भई जनशक्ति कार्यरत छन् भने विभिन्न सेवाका लागि अस्पतालले २० जनालाई बाह्य स्रोतबाट जनशक्ति व्यवस्थापन गरेको छ ।

दैनिक बिहान ६ बजेदेखि साढे ११ बजेसम्म टोकन लिएर बहिरंग सेवा एक सय ५० रुपैयाँ शूल्कमा लिन सकिने व्यवस्था छ । बहिरंग सेवा बिहान साढे ८ बजेबाट सुरु हुन्छ भने दिउँसो ३ः३० बजेबाट विस्तारित सेवामा चार सय ५० रुपैयाँको टिकटमा आँखाको परीक्षण गराउन पाउने व्यवस्था गरिएको छ । आँखा अस्पतालमा दैनिक करिब तीन सयजनाले सेवा लिने गरेका छन् ।