हेटौंडाः हेटौँडा–७ स्थित नागस्वती भेट्रान्स क्लबको आयोजनामा तेस्रो संस्करणको नागस्वती भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । मंगलबार हेटौंडा–७, नागस्वतीस्थित नवज्योति माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नागस्वती भेट्रान्स क्लबले जीत निकालेको छ । नवजनजागृति भेट्रान्स क्लबलाई आयोजक नागस्वती भेट्रान्स ‘ए’ ले ४–१ गोलअन्तरले हराएको हो ।
आयोजकको जीतमा डेविन श्रेष्ठले ह्याट्रिक पूरा गरे । म्यान अफ द म्याच डेविन श्रेष्ठ नै घोषित भए । यस्तै मंगलबार नै भएको दोस्रो खेलमा हेटौंडा भेट्रान्सले सुखद् सुरुवात गरेको छ । चितवन जिल्लाको पश्चिम चितवन भेट्रान्स क्लबलाई २–० गोलअन्तरले हराउँदै हेटौँडा भेट्रान्सले सुखद् सुरुवात गरेको हो । हेटौँडा भेट्रान्सको जीतमा सुविन घिमिरेले पेनाल्टी मार्फत १ गोल गरे भने रितेश थापा मगरले १ गोल गरे । म्यान अफ द म्याच हेटौँडा भेट्रान्सका रितेश थापा घोषित भए ।
यस्तै मंगलबारको अन्तिम खेलमा चितवन भेट्रान्सले निजगढ भेट्रान्सलाई पराजित गरेको छ । चितवन भेट्रान्सले निजगढ भेट्रान्सलाई २–१ गोलअन्तरले पराजित गरेको हो । चितवनको जीतमा विष्णु दराई र सुरेन्द्र चौधरीले समान १÷१ गोल गरे । म्यान अफ द म्याच चितवन भेट्रान्सका विष्णु दराई घोषित भए । प्रतियोगितामा १५ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल मंसीर ८ गते हुनेछ । नागस्वती भेट्रान्स क्लबका अध्यक्ष सोम बहादुर तितुङको अध्यक्षता तथा वडाध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको थियो ।
प्रतियोगितामा ४० वर्ष पूरा भएका भेट्रान्स खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले २ लाख १ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख १ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।