नेपाललाई कृषि प्रधान देश भनिन्छ । यहाँका अधिकांश मानिस कृषि कार्यमा संलग्न रहेकै कारण कृषि प्रधान देश भनिएको हुनसक्छ । अहिले पनि देशका आधाभन्दा बढी मानिसले आफ्नो पेशाको रुपमा कृषि नै उल्लेख गर्ने गरेका कारण धेरै नेपाली कृषिमा आश्रित रहेको मान्न सकिन्छ । विगतमा अधिकांश कृषि उपजमा आत्मनिर्भर बनेर निर्यातसमेत गर्ने अवस्थाको मुलुकको कृषि अहिले आयातमुखी बनेको छ । बढ्दो जनसंख्याका कारण कृषियोग्य भूमिको कमी हुनाका साथै नेपालीहरु विदेशिने क्रम बढेका कारण कृषि पेशाप्रति आकर्षण कम हुँदै गएको छ । विगतदेखि नै परम्परागत र जीवन निर्वाहमुखी कृषि पद्दति अपनाउँदै आएका नेपाली कृषकहरु पछिल्लो समय आधुनिकीकरण र यान्त्रिकीकरणतर्फ अग्रसर हुन थालेका छन् ।

बागमती प्रदेशका कृषकहरू यान्त्रिकीकरणतर्फ आकर्षित भइरहेका छन् । यान्त्रिकीकरणले कृषकलाई बाली लगाउन, गोडमेल गर्न र भित्र्याउन सहज हुने भएकाले यान्त्रिकीकरणतर्फ कृषकको आकर्षण बढ्दै गएको हो । विशेषगरी धान, गहुँ, कोदो, मकैलगायत खाद्यान्न बालीहरुमा यन्त्र उपकरणको प्रयोग बढ्दै गएको छ । अहिले धान भित्र्याउने क्रम चलिरहेको अवस्थामा अधिकांश कृषकहरु यन्त्र–उपकरणको प्रयोगतर्फ आकर्षित भएका हुन् । कृषकहरुले धान काट्न, चुट्न, ढुवानी र भण्डारण गर्नका लागि यन्त्र उपकरणको प्रयोगमा जोड दिने गरेका छन् । ज्याला मजदुरी गर्ने अधिकांश नेपाली वैदेशिक रोजगारीका लागि गएका कारण पनि कृषकहरु यान्त्रिकीकरणतर्फ आकर्षित हुुनुको विकल्प छैन । विगतमा सहजरुपमा श्रमिक पाउने अवस्थामा खेताला प्रयोग गरेर धान काट्ने तथा चुट्ने काम गर्ने कृषकहरु अहिले मेसिनको प्रयोगबाट चाँडै र धेरै काम गर्न सक्षम बनेका छन् ।

कृषिमा आश्रित जनसंख्याको हिस्सा धेरै भए पनि नेपालमा कृषिको उत्पादकत्व भने निकै न्यून हुने गरेको छ । कृषि क्षेत्रमा आधाभन्दा बढी मानिस संलग्न हुँदा पनि कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान भने एक चौथाईको हाराहारीमा मात्र रहेको छ । यसो हुनुमा कृषिको आधुनिकीकरण र यान्त्रिकीकरणका लागि सरकारले पर्याप्त ध्यान दिन नसक्नु नै प्रमुख कारण हो । विश्वभर कृषि क्षेत्रमा नयाँ नयाँ प्रविधि र यन्त्र उपकरणको प्रयोग भइरहँदा हामीकहाँ भने किसानहरु उही परम्परागत प्रविधिबाटै कृषि कार्य गरिरहेका छन् । खेतीयोग्य जमिनको खण्डीकरणले कृषिको विकास र विस्तारमा समस्या भइरहेको छ । खेतीपातीका लागि किसानले पर्याप्त मल, उन्नत बिउ, उपयुक्त विषादी र उत्पादित सामग्रीको लागि उचित बजारको सुविधा पाउन सकेका छैनन् । धेरैजसो खेतीयोग्य जमिनमा पर्याप्त सिंचाइ सुविधा नहुँदा पनि कृषि उत्पादन वृद्धि गर्न सकिएको छैन ।

सरकारले दशकौं अघिबाटै कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरणको नारा तथा कार्यक्रम अघि सारेको भए पनि प्रभावकारी भएको छैन । कृषिमा नयाँ प्रविधिको प्रयोगले किसानको काम छिटो र सहज हुने भए पनि सबै किसानले यस्तो सुविधा पाउन सकेका छैनन् । मेसिनको प्रयोगले कृषि उत्पादनको लागत कम हुनाका साथै समय पनि कम लाग्छ । मानिसले काम गर्दा ज्याला तथा अन्य खर्चका साथै समय पनि बढी लाग्ने भएकाले सबै किसान यन्त्र उपकरणको प्रयोगतर्फ आकर्षित हुनु आवश्यक छ । सरकारले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गरेर किसानलाई प्रोत्साहन गर्नुपर्छ । सरकारले कृषि क्षेत्रको विकासका लागि ल्याएका कार्यक्रमलाई किसान लक्षित बनाउनुपर्छ । कृषिमा यान्त्रिकीकरणलाई प्रोत्साहित गर्दै कृषिको उत्पादकत्व वृद्धिका लागि तीनै तहका सरकारले अल्पकालीन र दीर्घकालीन योजना ल्याउनु उचित हुनेछ ।