हेटौँडाबाट प्रकाशन हुँदै आएको समृद्ध समाज राष्ट्रिय दैनिकको १५ औं वार्षिकोत्सवको अवसरमा सम्पादक सुरेश श्रेष्ठ सरले हार्दिकताका साथ प्रेषित गर्नु भएको निमन्त्रणा विद्युतीय सञ्जालको मार्ग हुँदै मेरो म्यासेन्जरको इनबक्समा आएर सकुसल अवतरण भयो । हत्तनपत्त अक्षररूपी यात्रीहरूतर्फ आँखा दौडाएँ । पढ्दा असाध्यै खुशी लाग्यो । हिजोमात्र हेटौँडामा जन्मिएको जस्तो लाग्ने समृद्ध समाज हेर्दाहेर्दै पन्ध्रौं वर्षको लक्का जवान भएको र असाध्यै लोकप्रिय काम गर्दै गएकोमा हर्षले मन झुसी भयो ।

राजकुमार लामिछाने

म आफू पनि हास्यव्यङ्गयका सिर्जनाहरू कोर्ने र समृद्ध समाजमा पोष्ट गर्ने भएकोले सुरूका दिनदेखिनै समृद्ध समाज राष्ट्रिय दैनिकसँग निकट भएको हुँ । बिहान जुरुक्क उठेर गेट खोल्ने बितिक्कै पहिलो भेट समृद्ध समाजसँग हुने गर्दछ । शुभ प्रभातमा चियाको घुड्कोसँगै मन भुलाउने र पत्रिकामा आँखा डुलाउने बानी नै परिसकेको छ । जहाँ भेट्दा पनि सुरेश श्रेष्ठ सरले साहित्य सिर्जनातर्फ दिनुहुने हौसला, उर्जा र प्रेरणा सम्झिरहन्छु र यहाँ पनि साहित्यतर्फका केही प्रसङ्गहरू कोट्याउन चाहन्छु ।

मकवानपुरमा धेरै साहित्यिक संघ संस्थाहरू रहेका छन् । हरेक संस्थाका नियमित कार्यक्रमहरू भइरहन्छन् । प्रत्येक कार्यक्रममा सकभर सुरेश सर आफैं उपस्थित हुने, उहाँले नभ्याउने अवस्थामा समृद्ध समाजको प्रतिनिधिको उपस्थिति रहेको हुन्छ । ती कार्यक्रमहरूको बारेमा एवम् साहित्यिक गतिविधिहरूका बारेमा आम जनसमुदायमा समाचार सम्प्रेषण गरी मकवानपुरे साहित्यको उन्नयनमा समृद्ध समाज राष्ट्रिय दैनिकले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

त्यसैगरी विभिन्न साहित्यकारहरू एवम् नवसर्जक भाइबहिनीहरूका कार्टुन, कविता, गजल, मुक्तक आदि विविध सिर्जनाहरूलाई शनिबारे या बुधबारे अंकमा स्तम्भको रूपमा स्थान दिएर साहित्यप्रति आकर्षित गर्ने र साहित्यका बेर्ना उमार्ने कार्यमा पनि समृद्ध समाज राष्ट्रिय दैनिकको अहम् भूमिका रहेको छ ।

यसका अतिरिक्त समाजमा हुने गरेका विविध घटनाहरू, पीडितका आवाज, राजनीति, सामाजिक, शैक्षिक, आर्थिक, धार्मिक एवम् राज्यका विविध क्षेत्रमा देखिएका विकृतिहरू र सुधारका पक्षहरूमा समृद्ध समाजले सशक्त रूपमा आवाज उठाउँदै आएको छ । यसरी समृद्ध समाजले समाजमा राम्रो छाप छोड्दै र हरेक क्षेत्रका समाचारहरूलाई समेट्दै गएको कारण नै सबैको लोकप्रिय बन्दै आजको अवस्थामा आइपुग्न सफल भएको हो । १५ औं वार्षिकोत्सवको अवसरमा अझ लोकप्रियता बढ्दै र सफलताको शिखर चढ्दै जाओस् भनी सम्पादक सुरेश श्रेष्ठ सर एवम् समृद्ध समाज राष्ट्रिय दैनिक परिवारलाई हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछु ।