हेटौँडाः हेटौँडा–४, पारिजातपथस्थित दाजुभाइ स्वीट्स एण्ड फास्टफुड सञ्चालनको १५ वर्ष पूरा भएको छ । दाजुभाइले बुधबार १५ औं वार्षिकोत्सव मनाएको छ । दाजुभाइ हेटौँडाको लोकप्रिय शाकाहारी तथा मिठाईको रेष्टुरेन्ट हो ।

२०६६ सालमा दुनोट उत्पादन गरी पसल–पसलमा विक्री गर्दै हिँड्नु भएका दीपक गौतमले अरु दुई दाजुभाइसँग मिलेर २०६७ सालमा दाजुभाइ स्वीट्स एण्ड फास्ट फुड सञ्चालन गर्नु भएको हो । राजकुमार, दीपक र नवराजले दाजुभाइलाई हेटौँडा बजारको चर्चित ब्राण्डको रुपमा विकास गर्दै गर्दा अहिले ९२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

काभ्रे जिल्लाबाट २०६६ सालमा हेटौँडा आएर दुनोट हुँदै मिठाई र शाकाहारी रेष्टुरेन्ट सञ्चालन गरेसँगै गौतम दाजुभाइले राम्रो आम्दानी गर्नुका साथै रोजगारीको अवसर समेत सिर्जना गरेका छन् । दैनिक औसत ४ सय लिटर दुध खपत गरी मिठाई बनाउने गरेको दीपक बताउनुहुन्छ । “५ दाजुभाइमध्ये हामी ३ दाजुभाइ शाकाहारी खाजा र मिठाई रेष्टुरेन्टको रुपमा हेटौँडामा दाजुभाइ स्वीट्स सञ्चालन गरिरहेका छौं”, दीपक गौतमले भन्नुभयो, “हामीले हाम्रा सेवाग्राहीलाई सन्तुष्ट गराउन सफल भएका छौं । हामी पनि आफ्नो व्यवसायबाट सन्तुष्ट छौं ।”

व्यवसाय सुरु गर्दै गर्दा क्किै मिहिनेत गर्नु परेको स्मरण गर्नुहुँदै दीपक भन्नुहुन्छ, “अहिले व्यवसायको दायरा फराकिलो भएको छ । सेवाग्राहीको विश्वासका कारण निक्कै मिहिनेत गर्नुपर्छ । मिहिनेतको फल पनि राम्रो पाएका छौं ।” मध्यम र निम्न आय भएका वर्गले पनि सहुलियत मूल्यमा खाजा खान पाउने व्यवस्था गरिएको र गुणस्तरीय मिठाई उत्पादन र विक्री गर्दै आएको दीपकको दावी छ ।