हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललित बहादुर घलानले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज बिक्रम नेम्वाङलाई ज्ञापनपत्र बुझाउनुभएको छ । सोमबार घलान सहितको टोलीले काठमाडौँको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अध्यक्ष पंकज बिक्रम नेम्वाङलाई ८ बुँदे माग सहितको ध्यानाकर्षणपत्र बुझाउनुभएको हो ।

गत असोज महिनाको ११ र १२ गतेको अविरल वर्षाका कारण कुलेखानी ड्याम भरिने र ड्याम्प खोल्न सक्ने आतंककाबीच एन्फा एकेडेमी तथा व्यवस्थापकको पूर्व तयारी बिना १२ गते बिहानको समयमा ड्याम खोलेको कारणले खोलाको सतह बढेर खेलाडीहरुलाई अर्को स्थानतर्फ लैजाने क्रममा पहिरोमा परेर एकेडेमीमा आवद्ध ६ किशोर खेलाडीको मृत्यु भएको थियो । मृतक किशोर खेलाडीका परिवारले ८ बुँदे मागसहित ध्यानाकर्षण गराएको छ ।

सबैलाई मान्य हुनेगरी उच्चस्तरीय छानबिन आयोग गठन गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने, मृतक खेलाडीहरुको स्मृतिमा खेल आयोजना गर्नका लागि अक्षयकोष स्थापना गरी कोषमा पर्याप्त रकमको व्यवस्था गर्नुपर्ने र एन्फा कम्प्लेक्स भवनको कम्पाउण्डभित्र मृतक खेलाडीहरुका प्रतिमा निर्माण गर्नुपर्ने माग ध्यानाकर्षणपत्र मार्फत माग गरिएको छ । मृत्यु भएका खेलाडीहरुको नाममा एन्फाको सुविधायुक्त फुटबल एकेडेमी बनाउनुपर्ने माग गरिएको छ । एन्फाबाट सञ्चालन हुने हरेक कार्यक्रमहरु लागि उपयुक्त पूर्वाधारहरु भएको भौगोलिक स्थान, स्वास्थ्य उपचारको व्यवस्था, सडक लगायतका सहज पहुँच हुनेगरी खेल क्षेत्रका विज्ञहरुको सल्लाह सुझाव र प्रतिवेदन तथा अन्तर्राष्ट्रिय मापदण्ड आधारमा संचालन गर्नुपर्ने माग राखिएको छ ।

मृतक किशोर खेलाडीहरुको स्मृतिमा प्रत्येक वर्ष राज्यको तर्फबाट राष्ट्रव्यापी फुटबल प्रतियोगिताहरु सञ्चालन गर्नुपर्ने, अविरल वर्षाको कारणले आएको बाढी पहिरोको कारणले मृत्यु हुने परिवारहरुका लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्दै घाइतेहरुको उपचार र घरबारविहिन भएका परिवारहरुलाई पुनःस्थापना केन्द्रको व्यवस्था गर्नुपर्ने माग रहेको बताइएको छ ।

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३ मा एन्फाले एन्फा एकेडेमी सञ्चालन गरेको थियो । उक्त एकेडेमीका प्रशिक्षार्थी घलानका छोरा १४ वर्षीय अनुपम घलान, इन्द्रसरोवर गाउँपालिका–३ का १३ वर्षीय दिवस बानियाँ, मकवानपुरगढी गाउँपालिकाका साइमन योन्जन, धादिङ जिल्लाका प्रियन्स आचार्य तथा मधेश प्रदेशको बारा जिल्लाका विकल रेग्मी, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१७ का आदित्य बलम्पाकीको पहिरोमा परी हुँदा खेलकुद जगतमा ठूलो चोट पु¥याएको भन्दै विज्ञप्ती मार्फत चिन्ता व्यक्त गरिएको छ । प्राधिकरण, एकेडेमी तथा व्यवस्थापन पक्षले पूर्व होशियारी नअपनाएको कारणले यस्तो दुखद् घटना भएको पीडित पक्षको भनाइ छ ।