सरकारले आगामी मंसिर १६ गतेका लागि वडा, पालिका, प्रदेश र संघीय प्रतिनिधि सभामा रिक्त रहेका स्थानमा उपनिर्वाचन गर्दैछ । सोही क्रममा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ मा पनि निर्वाचन हुँदैछ । २०७९ सालको निर्वाचनमा निर्वाचित हेटौँडा–१२ का अध्यक्ष ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित हुनुभएपछि रिक्त रहँदै आएको छ । जिल्लाका १०२ वटा वडामध्ये एउटा मात्रै वडामा निर्वाचन हुँदै गर्दा सबैको ध्यान हेटौँडा–१२ मा केन्द्रित छ । वडामा निर्वाचनको प्रक्रिया सुरु हुनुअघि देखि नै दलहरुले आआफ्नो तर्फबाट अनुकुल वातावरण बनाउने प्रयास गरेका छन् ।

आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा–१२ मा १ हजार ५ सय ८८ मतदाता थपिएका छन् । २०७९ सालको स्थानीय तहको निर्वाचनको तुलनामा १ हजार ५ सय ८८ मतदाता थपिएका हुन् । निर्वाचन आयोगले आगामी उपनिर्वाचनमा हेटौंडा–१२ को वडा अध्यक्ष पदका लागि ८ हजार ५३ मतदाता कायम गरेको छ । जसमा पुरुष ३ हजार ८ सय ७८, महिला ४ हजार १ सय ७४ र अन्य १ जना मतदाता कायम गरिएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा उक्त वडामा ६ हजार ४ सय ६५ मतदाता कायम गरिएको थियो । एउटा वडामा अघिल्लो निर्वाचनको ३ वर्ष हुँदै गर्दा एक हजार पाँचसय ८८ जना मतदाता थपिनु सामान्य विषय होइन ।

निर्वाचन कार्यतालिकाअनुसार यही कात्तिक ३० मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ भने मंसिर २ बाट निर्वाचनका कार्यक्रम संचालन गरिने छ ।
निर्वाचनमा दलहरुले उम्मेदवार तोकेर चुनावी अभियानमा अघि बढेका छन् । उम्मेदवार र दलका नेता, कार्यकर्ता घरदैलोमा हिँडिसकेका छन् । निर्वाचनको कार्यतालिका सार्वजनिक हुनुअघि नै दलहरुले आआफ्नो तर्फबाट तयारीलाई व्यापक बनाएको छ । निर्वाचनमा मतको मूल्य बुझेका दलले मतदाताको मन जित्ने भन्दा पनि मतकै संख्या बढाउन आफ्ना समर्थक, शुभेच्छुकको सहयोगमा बसाईसराई गरी आएको बहानामा मतदाता सूचिमा संख्या बढेको देखिन्छ । निर्वाचनमा मत महत्वपूर्ण विषय हो । तर, राजनीतिक दलले जिम्मेवार भएर जनताको मन जित्ने भन्दा मतको खेलमा अनुशासनहिन बन्नु जायज हुन्न ।

आजको आधुनिक सूचना प्रविधिको युगमा हामीले आफ्नो सकारात्मक चरित्रलाई बेवास्ता गर्दै जंक फुडको शैलीमा मतदाताको संख्या मात्रै बढाउन अग्रसर हुनु स्वभाविक हुनै सक्दैन । मतदातालाई उम्मेदवार र उम्मेदवार सम्वद्ध दलले लोकप्रिय योजना तथा कार्यक्रम प्रस्ताव गरेर मत जित्नुपर्ने आवश्यकतालाई बुझ्न ढिलाई गर्नुहुन्न । जनताको मन जितेर मत माग्ने स्थितिको विकास गर्नु जरुरी छ । जसले असल राजनीतिक संस्कारको विकास हुनुका साथै वास्तविक उम्मेदवार छनोट गर्न पनि मद्दत पुग्नेछ । यसले समग्रमा मकवानपुर जिल्ला र सबै पालिकाबीच नियमित सौहाद्र्धता अभिवृद्धिमा समेत सहयोग पुग्ने छ ।