मन्त्रिपरिषद्को निर्णय जानकारी गराउनुहुँदै मन्त्री लामिछाने ।

हेटौँडाः बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशमा सचिव अभाव भएपछि निमित्त जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषद् बैठकले प्रदेशमा सचिवको रिक्त रहेका पदमा राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरुलाई निमित्त जिम्मेवारीमा खटाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशमा ७ जना सचिवको पद रिक्त रहेको छ ।

प्रदेशमा सचिव अभाव हुँदा मन्त्रिपरिषद् बैठक बस्न नै कठिन भएपछि युवा तथा खेलकुद मन्त्रालयका सचिव रुद्र लामिछानेलाई प्रशासन तथा बैठक महाशाखाको जिम्मेवारी तोकेको छ । उनलाई एक दिनका लागि उक्त जिम्मेवारी तोकिएको मन्त्री लामिछानेले बताउनुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दरवन्दी अनुसार ३ जना सचिवको पद रिक्त भएपछि बैठकले लामिछानेलाई थप जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैठकले स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुुर खड्काको अनिवार्य अवकास स्वीकृत गरेको छ । बैठकले प्रदेश सरकारको ७ वर्षे अवधिको आर्थिक अवस्था तथा योजना कार्यान्वयनको अध्ययन गर्न कार्यदल बनाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । सो कार्यदलले ४ महिना भित्र प्रतिवेदन पेश गर्नेगरी स्वीकृति प्रदान गरिएको मन्त्री लामिछानेले बताउनुभयो ।

बैठकले सवारी साधन खरिद सम्बन्धी मापदण्ड संशोधन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश सरकारको सार्वजनिक खर्च मापदण्ड समेत संशोधन गरेको छ । बैठकले कोप–२९ मा प्रदेश सरकारको तर्फबाट सहभागी भएका वन तथा वातावरण मन्त्रालयका सचिवको भ्रमणलाई स्वीकृत गरेको छ । बैठकले प्रदेश महिला हकको व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । बैठकले विस्तारित शिक्षा तालिम इकाई व्यवस्थापन कार्यविधी स्वीकृत गरेको छ ।