शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको कार्यालय ।

हेटौंडाः शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले बागमती गाउँपालिकाको २ वटा माध्यमिक विद्यालयको अनुगमन गरेको छ । सोमबार बागमती गाउँपालिका–१ स्थित सूर्याेदय माध्यमिक विद्यालय र २ नम्बर वडास्थित बागमती माध्यमिक विद्यालयको अनुगमन गरिएको इकाई प्रमुख सुदीप गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयको निर्माणाधिन भवनको अनुगमन गरिएको हो ।

विद्यालयको शैक्षिक सत्र २०८० को समग्र कक्षा १० र ८ को नतिजा बारे प्रधानाध्यापक, शिक्षक कर्मचारी र व्यवस्थापन समितिसहित अन्तरक्रिया समेत गरेको प्रमुख गिरीले बताउनुभयो । विद्यालयको शैक्षिक सुधारको विषयमा अभिभावकसँग छलफल गरिएको प्रमुख गिरीले बताउनुभयो । विद्यार्थीको नियमित उपस्थिति र नतिजा सुधारको विषयमा अभिभावकको गुनासो रहेको उहाँले बताउनुभयो ।

बागमती माध्यमिक विद्यालयमा नतिजाको सन्दर्भमा प्रधानाध्यापक र अभिभावकसँग अन्तरक्रिया गरिएको उहाँले बताउनुभयो । कक्षा ९ को गणित विषय कक्षा अवलोकन गरी शिक्षकको राम्रो पक्ष र सुधार गर्नुपर्ने पक्ष बारे पृष्ठपोषण गरिएको गिरीको भनाई छ । विद्यालयको अनुगमन अघि अनुगमन टोलीले गाउँपालिकाको अध्यक्ष र प्रशासकीय अधिकृतसँग शैक्षिक सुधारका लागि गर्नुपर्ने कार्य बारे छलफल गरिएको प्रमुख गिरीले जानकारी दिनुभयो । नवआगन्तुक इकाई प्रमुख गिरीले बुधबार मकवानपुरको संस्थागत र सामुदायिक दुबै विद्यालयको प्रधानाध्यापक भेला रहेको जानकारी दिनुभएको छ ।