हेटौंडाः मकवानपुर प्रहरीले सोमबार विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालतले विभिन्न मितिमा फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय तोकिएर फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कार्वाहीका लागि जिल्ला अदालत पेश गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा १ जना बाल यौन दूव्र्यवहार मुद्दाका दोषी छन् भने २ जना लागुऔषध र २ जना चेक अनादरसम्बन्धी मुद्दाका प्रतिवादी छन् । प्रहरीले बाल यौन दुव्र्यवहार मुद्दाका हेटौंडा–१९ का ५१ वर्षीय विष्णुप्रसाद लामिछानेलाई पक्राउ गरेको हो । लामिछानेलाई अदालतबाट ३ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
यस्तै लागुऔषध (डाईजेपाम) मुद्दाका हेटौंडा–१२ बस्ने २१ वर्षीय सजन विश्वकर्मा र हेटौँडा–११ का ३६ वर्षीय सुरेश महर्जनलाई पक्राउ गरेको छ । विश्वकर्मालाई १२ दिन कैद र महर्जनलाई २ लाख रुपैयाँ जरिवाना तोकिएको थियो । यसैगरी प्रहरीले चेक अनादर गरेको कसुरमा सजाय तोकिएका हेटौंडा–१२ की ४१ वर्षीया कल्पना आले मगर र हेटौंडा–१० का ५४ वर्षीय हिराकाजी श्रेष्ठलाई पक्राउ गरेको छ । मगर र श्रेष्ठलाई १/१ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।