हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । राक्सिराङ–८ स्थित रातोडाँडाका ८१ वर्षीय सिंहबहादुर ब्लोनको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ब्लोन सोमबार बिहान साढे ११ बजे घाँस काट्ने क्रममा खुट्टा चिप्लिएर भीरबाट ८० मिटर तल खसेका थिए । भीरबाट खसेका ब्लोन कराइरहेको सुनेपछि स्थानीयले उद्दार गरी उपचारका लागि अस्पताल पठाउने तयारी गर्दागर्दै सोमबार दिउँसो १ बजेर ४० मिनेटमा ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । ब्लोनको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।