शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको कार्यालय ।

हेटौँडाः शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले आगामी बुधबार माध्यमिक विद्यालयका प्रधानाध्यापकको भेलाको आयोजना गर्दैछ । सिकाई उपलब्धीको दरमा सुधारका लागि गर्नुपर्ने कामका विषयमा छलफल गर्न, एसईई परीक्षाको तयारीका विषयमा छलफल गर्न प्रधानाध्यापकको भेला आयोजना गरिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीले जानकारी दिनुभएको छ ।

भेलामा जिल्लाका संस्थागत र सामुदायिक दुबै विद्यालयका प्रधानाध्यापकको सहभागिता रहने गिरीले बताउनुभयो । उत्कृष्ट विद्यालयको तर्फबाट प्रस्तुती समेत रहने समन्वय प्रमुख गिरीको भनाइ छ । संस्थागत र सामुदायिक दुबैतर्फ राम्रा विद्यालयको प्रस्तुती रहने उहाँले स्पष्ट पार्नुभयो । मकवानपुुर जिल्लामा संस्थागत र सामुदायिक दुबै गरी एक सय ३९ वटा माध्यमिक तहका विद्यालय छन् । जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा हुने भेलामा समन्वय प्रमुखसँगै बागमती प्रदेश सरकारको शिक्षा निर्देशनालयका निर्देशकसहितका अधिकारीले विद्यालय शिक्षाको सुधारको विषयमा प्रस्तुती राख्ने बताइएको छ ।