हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सेवाग्राहीहरु न्यून देखिएका छन् । तिहारको बिदा सकिएर मंगलबार पहिलो दिन कार्यालय खुले पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सेवाग्राहीहरुको संख्या न्यून देखिएको हो ।
कार्तिक १५ गतेबाट तिहारको विदा भएर सरकारी कार्यालहरु मंगलबारबाट खुलेको हो । तिहारको विदा हुनुभन्दा पहिलाको तुलनामा जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन आउने सेवाग्राहीहरुको संख्या कम देखिएको छ ।
जिल्ला प्रशासन कार्यालयको अन्य शाखाहरुको तुलनामा राष्ट्रिय परिचयपत्र बनाउन आउनेहरुको संख्या बढी देखिएको छ । प्रशासनमा नागरिकता र राहदानी बनाउन आउनेहरुको तुलनामा राष्ट्रिय परीचयपत्र बनाउनेहरुको संख्या बढी देखिएको थियो ।
नागरिकता बनाउन आउनेहरु करिब १५ जना रहेका थिए भने राष्ट्रिय परिचयपत्र बनाउन आउनेहरुको संख्या लगभग ६५ जना थियो । मकवानपुरको विभिन्न ठाउँहरुबाट युवा तथा ज्येष्ठ नागरिकहरु राष्ट्रिय परिचयपत्र बनाउन आएका थिए ।
कार्यालय खुलेको पहिलो दिन राहदानी शाखामा पनि सेवाग्रीहरु न्यून देखिएका थिए । तिहार मनाउनका लागि मकवानपुर जिल्लाका मानिसहरु बाहिरी जिल्लालगायतका ठाउँहरुमा घुम्न गएर फर्केर नआएको कारण राहदानी शाखामा सेवाग्राही कम देखिएको अनुमान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा नागरिताको प्रतिलिपि, नयाँ नागरिकता, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र लिन आउने सेवाग्राही उल्लेख्य हुने गरेका छन् । नागरिकता बनाउनका लागि वडा कार्यालयको सिफारिसहितको निवेदन हुनुपर्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । नागरिकताका लागि हालसालै खिचिएको तस्वीर हुनुपर्ने जनाइएको छ । राष्ट्रिय परिचयपत्र बनाउन आफ्नो फारममा भएको व्यक्तिगत विवरणलाई राम्रोसँग समावेश गर्नुपर्ने जनाइएको छ । राष्ट्रिय परिचयपत्रको लागि सम्बन्धित व्यक्तिको आवश्यक कागजात हुनुपर्छ ।