हेटौंडाः हेटौंडाको राप्ती नदीको किनारमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पर्वको मुख्य दिन बिहीबार हुने छठ पूजाका लागि पूजास्थल तयारी अन्तिम चरणमा पुगेको हो ।
छठ पूजाका लागि राप्ती नदी किनारमा सिंगारिएको संयुक्त मधेशी सेवा समाज नेपाल जिल्ला कार्य समिति मकवानपुरका सचिव नन्दलाल दासले जानकारी दिनुभएको छ । विभिन्न स्थानीय निकायहरुको सहयोगमा हुन लागेको छठ पूजाका लागि राप्ती नदीको किनारमा साढे ६ सय फिटको पूजा स्टल पाण्डलहरु निर्माण गरिएको सचिव दासले बताउनुभयो ।

सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका छठ पर्व मनाउने गरिएको छ । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ । यी दुईवटै देवी देउतालाई प्रशन्न पार्नका लागि कार्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको स्वीकृति एव्म जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक कार्यालय मकवानपुर, सामुदायिक प्रहरी कार्यालय र सशस्त्र प्रहरीसँगको समन्वयमा शान्ति सुरक्षाको व्यवस्था मिलाइएको सचिव दासले बताउनुभयो । छठ पूजाको समयमा आकस्मिक रुपमा मानिसहरुमा हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गरेर निःशुल्क स्वास्थ्य शिविर र एम्बुलेन्सको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

सचिव दासका अनुसार छठ पूजाको लागि नदी किनारमा तयारी अन्तिम चरणमा पुगेको छ । बालबालिकाका लागि मेला, बाल उद्यानको व्यवस्था, घाटमा खट्ने भक्तजन, स्वयम्सेवक तथा स्काउटका पदाधिकारीहरुका लागि निःशुल्क पानी र चियापानको व्यवस्था गरिएको छ । टेन्ट व्यवस्थापन, विद्युत् व्यवस्थापन, घाट व्यवस्थापन, खानेपानी व्यवस्थापन, मूर्ति व्यवस्थापनका लागि फरकफरक व्यवस्थापन समिति बनाइएको उहाँले बताउनुभयो । रातभर जागा बस्ने ब्रतालुहरुका लागि पनि व्यवस्थापन समिति गठन गरेको उहाँले बताउनुभयो ।

कार्तिक १२ गतेबाट छठ पूजाको लागि राप्ती नदी किनारमा तयारी सुरु गरेको बताउनुहुँदै सचिव दासले भन्नुभयो– ‘पूजाको सम्पूर्ण तयारी पूरा भएपछि तोरण (झण्डी पटाका) सजाइन्छ । घाटलाई सजाउनका लागि स्थानीय टोल विकास संस्थाका पदाधिकारीहरुको समन्वय रहनेछ ।’ पूजाको तयारीमा लगभग ३० जनाको सहयोग समिति बनाइएको सचिव दासले जानकारी दिनुभयो । प्रहरीको सचिवालय, स्वास्थ्य शिविरको स्टल, बत्ती सजाउने कामहरु भइरहेको र बाटो बनाउने, झण्डा सजाउने, पण्डाल निर्माण गर्ने कामहरु पूरा भइसकेको उहाँले बताउनुभयो ।

बिहीबार बिहानसम्म छठ पूजाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा हुने उहाँको भनाइ छ । विगतमा जस्तै यस वर्ष पनि ५० देखि ७० हजारको हाराहारीमा दर्शालुहरु आउने अनुमान रहेको उहाँले बताउनुभयो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका आसपासका र अन्य ठाउँहरुका दर्शालुहरु आउने अनुमान गरिएको उहाँको भनाइ छ । अहिलेको समयमा मधेशी समाजका मानिसहरु सँगसँगै पूजा गर्ने गरेको कारणले पहाडी समुदायका मानिसहरुको पनि उपस्थिति रहने उहाँको अनुमान रहेको छ । छठ पर्व मधेश सामुदायका मानिसहरुको मात्र नभई हिन्दू धर्मावलम्बीहरुको मुख्य पर्व रहेको उहाँको भनाइ छ ।

कार्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु भएर यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुने उहाँले बताउनुभयो । यो पर्वमा खासगरी सूर्यदेवको उपासना गरिने र हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वौद्धिक कालदेखि नै रहँदै आएको उहाँले बताउनुभयो । उज्यालो दिने, न्यानो तथा गर्मी दिने, रोगबाट जोगाउने सूर्य नै भएकाले कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यको आराधना गर्दै छठ मनाउने गरिन्छ ।

चामल, पिठोको ठेकुवा, कसार, विभिन्न मिठाई, उखु, अदुवालगायतका प्रसाद बाँसको टोकरी वा सुप्पोमा राखेर नजिकको जलाशयमा लगेर अस्ताउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । छठ पर्वमा महिला व्रत पनि बस्ने गर्छन् । दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वासका साथ महिलाहरू व्रत बस्ने चलन रहेको सचिव दासले जानकारी दिनुभयो ।