हेटौँडाः सातौं संस्करणको मकवानपुरगढी गाउँपालिकास्तरीय रनिङ्गशिल्ड फुटसल प्रतियोगिताको उपाधिका वडा नम्बर ३ ले जीतेको छ । बुधबार मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु माविको मिनिपिच (फुटसल) मा उपाधिका लागि भएको प्रतिस्पधामा प्रतिभा युवा क्लब ए लाई १–० गोलअन्तरले पराजित गर्दै वडा नम्बर ३ ले उपाधि जितेको हो ।
बुधबार बिहान भएको खेलमा प्रतिभा युवा क्लब ‘बी’लाई ४–० गोलअन्तरले पराजित गर्दै वडा नम्बर ३ फाइनल प्रवेश गरेको थियो भने नेस्कला एफसीलाई ७–० गोलअन्तरले पराजीत गर्दै प्रतिभा युवा क्लब ‘ए’ फाइनल प्रवेश गरेको हो । खेल मकवानपुरगढी गाउँपालिकाको प्रायोजन तथा प्रतिभा युवा क्लबको आयोजना र मकवानपुर खेलकुद विकास समितिको समन्वयमा आइतबारबाट सुरु भएको हो । प्रतियोगितामा प्रथम हुने वडा नम्बर ३ ले ८० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता प्रतिभा युवा क्लब ‘ए’ ५० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा सर्वाधिक गोलकर्तामा प्रतिभा युवा क्लबका विवश थिङ, उत्कृष्ट खेलाडी वडा नम्बर ३ का आशिष भोम्जन र उकृष्ट गोलरक्षक प्रतिभा युवा क्लबका दयाराम घिसिङ घोषित हुनु भएको छ । तीनै जनालाई मायाको चिनोका साथै ट्रफि प्रदान गरिएको छ ।