टोलस्तरीय भलिबलको उद्धाटन्को तस्वीर ।

हेटौंडाः दुम्सीडाँडा टोल विकास संस्थाको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा टोलस्तरीय वडाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा–११ स्थित डाङ्डुङ्गे खेलमैदानमा सुरु भएको आठौं संस्करणको टोलस्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक दुम्सिडाँडा टोल विकास संस्था ‘सी’ ले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आयोजकले तल्लो ताल टोललाई २–१ सेटले पराजित गरेको हो ।

दुम्सीडाँडा टोलका अध्यक्ष शिव प्रसाद अगस्तीको सभाध्यक्षमा तथा वडाध्यक्ष जुना दहालको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडाध्यक्ष दहालले वडा कार्यालयले खेललाई प्राथमिकता दिँदै ३ वर्षको कार्यकाल पूरा गरेको बताउनुभएको छ । ११ नम्बरलाई खेलकुदको माध्यमबाट उच्च देखाउन कार्यबाट आफू पछि नपर्ने उहाँको भनाई थियो । प्रतियोगिता अन्तर्गत लिगको दोस्रो खेलमा सहिद स्मारक टोल विकास र गणेशस्थान टोल विकास संस्थाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ११ नम्बरका वडाभित्रका ८ वटा टोलहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा तृतीय हुने टिमले १० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

विधागत उत्कृष्टतर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर र उत्कृष्ट स्पाइकरलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता आयोजनाका लागि करिब २ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।