हेटौंडाः सातौं संस्करणको मकवानपुरगढी गाउँपालिकास्तरीय रनिङ्गशिल्ड फुटसल प्रतियोगिता सुरु भएको छ । मकवानपुरगढी गाउँपालिकाको प्रायोजन तथा प्रतिभा युवा क्लबको आयोजना र मकवानपुर खेलकुद विकास समितिको समन्वयमा आइतबारबाट रनिङ्गशिल्ड फुटसल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिता मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु माविको मिनिपिच (फुटसल) मा हुँदैछ । बडादशैंको अवसरमा हुँदै आएको खेल गत असोज १२ गते सिस्नेरीमा पहिरोमा परेर एन्फा एकेडेमीका ६ जना प्रशिक्षार्थी खेलाडीको मृत्यु भएका कारण स्थगित गरिएको थियो । पहिरोमा परेर एन्फा एकेडेमीमा आवद्ध मकवानपुगढी–४ स्थित प्रतिभा युवा क्लबका खेलाडी साइमन योञ्जनको मृत्यु भएको थियो ।
लिग चरणमा खेलाइएको पहिलो खेलमा प्रतिभा युवा क्लबले रानीशेरा युवा क्लबलाई १२–० गोलले हराएको थियो । वडा नम्बर ३ ले नवजागृति युवा क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको छ । वडा नम्बरले ५ शेर्गे गुम्बालाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । खेलकुद विकास समिति ए ले गढी स्टार स्पोर्ट क्लवलाई ८–० गोल अन्तरले पराजित गरेको छ । सुकौरा एफसीले खेलकुद विकास समिति बीलाई ७–३ गोल अन्तरले पाजीत गरेको छ । सयपत्री युवा क्लबले उर्गेन गुरु क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । यस्तै प्रतिभा युवा क्लब ‘बी’ले देवी डाँडा युवा क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको छ । प्रतिभा युवा क्लब भेट्रान्स र इन्कोचर क्लवले १–१ गोलको बराबरी खेलेका छन् ।
प्रतियोगितामा गाउँपालिकाभित्रका १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले गर्नुभएको थियो । प्रतियोगितामा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीको विशिष्ट आतिथ्य तथा गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष हीराबहादुर लामाको आतिथ्य रहेको थियो । प्रतियोगितामा वडा अध्यक्ष, सदस्य एवम् जनप्रतिनिधि, क्लबका अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई क्रमशः ८० हजार र ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसअघिका प्रतियोगिताहरु मकवानपुरगढी–३ स्थित गढी स्टार स्पोर्टस् क्लबले आयोजना गर्दै आएकोमा यस वर्षको प्रतियोगिता मकवानपुरगढी–४ को प्रतिभा युवा क्लबले आयोजना गरेको हो ।