खेलाडी दर्ता गराउन प्रदेश खेलकुद विकास परिषद्ले जिल्ला खेलकुद विकास समितिहरुलाई दिएको निर्देशन ।

हेटौंडाः राष्ट्रिय खेलकुद परिषदे (राखेप)को आयोजनामा हुन लागेको दशौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडीको नाम दर्ता गराउन बागमती प्रदेश खेलकुद विकास परिषद्ले निर्देशन दिएको छ । प्रदेश खेलकुद विकास परिषद्का कार्यालय प्रमुख बद्री पाठकले सूचना जारी गर्नुहुँदै प्रदेशको १३ जिल्लाका खेलकुद विकास समितिलाई खेलाडीको नाम दर्ता गराउन निर्देशन दिनुभएको हो ।

कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदमा ७ प्रदेशका खेलाहरुबीच प्रतिस्पर्धा हुने पाठकले बताउनुभयो । १३ जिल्लाका खेलकुद विकास समितिले प्रदेशको मापदण्डअनुसार कार्तिक २५ गतेसम्म फारम भरेर खेलाडीहरुको नाम उपल्बध गराउनु पर्ने उहाँले बताउनुभयो । सबै जिल्लाले खेलाडीको फारम बुझाएपछि छनोट प्रक्रिया सुरु गर्नेे उहाँले बताउनुभयो ।

राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ वटा खेलहरु हुने उहाँले बताउनुभयो । बागमती प्रदेशको १३ जिल्लाका खेलकुद विकास समितिले सहभागीका लागि फारम बुझाएका खेलाडीहरुबीच खेलको विधाका आधारमा प्रतिस्पर्धा गराएर उत्कृष्टलाई छनोट गरेर बन्द प्रशिक्षणमा सहभागी गराएर प्रदेशको टिम तयार गर्ने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी हुनका लागि ओलम्पिक, एसियन, साउथ एसियन, प्रथम अन्तरप्रदेशस्तरीय तथा नवौं संस्करणको प्रतियोगितामा प्रदेशबाट सहभागी भएका खेलाडीहरुले सहभागी जनाउन पाउने उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागी हुनका लागि प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा पदक जितेको, प्रथम र दोस्रो संस्करणको बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा पदक जितेको र विभागीय टिमबाट करार सम्झौता गरेको खेलाडीहरुले मात्र प्रतियोगितामा सहभागी जनाउन पाउने उहाँको भनाइ छ ।

करिब ६ महिनाअघि राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको सभाध्यक्षमा त्रिपुरेश्वरस्थित परिषद्को कार्यालयमा बसेको बैठकले प्रतियोगितालाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको थियो । बैठकले खेलाडी छनोट, प्रदेश टिमको तयारी, खेल तथा खेलाडी संख्या, ट्रफी टुर, अनलाइन खेलाडी दर्ता फारम, खेल पोशाक, किट्स ब्याग, खेलाडी बिमा, मेडिकल टिमको बसोबास, स्थानीय यातायात, खेलस्थल, खेल सामग्री, खेल सञ्चालन सम्बन्धमा छललफ गरेको थियो । करिब ६ महिना पहिले मंसिर महिनामा प्रतियोगिता आयोजना गर्ने भनिएता पनि प्रतियोगिता सञ्चालनको समय तोकिएको छैन ।

राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशको टिमलाई उत्कृष्ट बनाउन आफूले सक्ने प्रयास गर्ने प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले बताउनुभएको छ । उहाँले खेलाडीहरुले खेलको क्रममा राम्रो प्रदर्शनी गरे पनि कतिपय अवस्थामा सोचेको जस्तो नहुने धारणा उहाँले राख्नुभयो । १३ जिल्लाका सबै विधाका उत्कृष्ट खेलाडीलाई छनोट गरेर बन्द प्रशिक्षणमा राखेर प्रदेश टिम तयार हुने उहाँको भनाइ छ ।

कर्णाली प्रदेशमा प्रतियोगिता हुने नहुने विषयमा टुंगो नलागेका कारण प्रतियोगिता समयमै सम्पन्न हुने विषय अन्योलमा परेको बताइएको छ । केन्द्रले प्रतियोगिता आयोजनाका लागि कुनै प्रकारको प्रतिक्रिया नदेखाएका कारण मंसिर महिनामा हुने भनिएको प्रतियोगिता तोकिएको समयमा नहुने अवस्था देखिएको छ ।

प्रदेशको १३ जिल्लाका खेडालीबिच महिला पुरुष आर्चरी, एथ्लेटिक्स, व्याडमिन्टन, बास्केटबल, शारीरिक सुगठन, बक्सिङ, बुद्धिचाल, क्रिकेट, साइक्लिङ, फेन्सिङ, फुटबल, फुलकन्ट्याक्ट कराँते, गल्फ, जिम्न्यास्टिक, ह्याण्डबल, हक्की, आइटीएफ तेक्वान्दो, जुडो, कबड्डी, कराँते, खोखो, प्याराग्लाइडिङ, रग्बी, सेपाक ताक्रो, भलिबल, कुस्ती, उसु, सफ्टटेनिस लगायतका खेलहरु सञ्चालन हुनेछ ।