हेटौंडाः कर्रा युवा क्लबको आयोजनामा भएको प्रथम संस्करणको पेनाल्टी सुटआउट प्रतियोगिताको उपाधि हेटौंडा–१० स्थित ढेँडो एफसी क्लबले जितेको छ । शुक्रबार हेटौंडा–४, हुप्रचौरमा भएको पेनाल्टी सुटआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा हेटौंडा–१८ स्थित हर्नामाडी एफसी क्लबलाई ५–३ गोलले हराउँदै ढेँडो एफसी क्लबले उपाधि जितेको हो ।

उपाधि जितेसँगै ढेँडो एफसीको टिमले ३० केजीको खसीसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हर्नामाडीले २० केजीको खसीसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । तिहार र छठ पर्वको शुभकामनासहित प्रतियोगिता आयोजना गरिएको थियो । खेलाडीहरुबीच भातृत्व सम्बन्ध कायम गराउन र खेलको महत्वबारे बुझाउनका लागि प्रतियोगिताको आयोजना गरिएको थियो । खेल संयोजक राशिष मगरको सभाध्यक्षमा तथा वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन समारोह भएको हो । प्रतियोगितामा १९ टिमको सहभागिता रहेको थियो ।