कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना ।

हेटौँडाः नेपाल तरुण दलको ७२ औं स्थापना दिवसको अवसरमा हेटौंडामा दीप प्रज्ज्वलन गरिएको छ । हेटौंडा–४ स्थित तरुण चोकमा शनिबार साँझ दीप प्रज्वलन गरिएको हो ।

तरुण दल मकवानपुरको आयोजना तथा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को प्रमुख आतिथ्यमा दीप प्रज्वलन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै समहामन्त्री डिनाले नेपाली राजनीतिमा तरुण दलको महत्वपूर्ण भूमिका र स्थान रहेको बताउनुभयो । वीपि कोइरालाले राजनीतिमा युवा पुस्ताको आवश्यकता र महत्व महशुस गरेर तरुण दलको स्थापना गर्नुभएको उहाँले बताउनुभयो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनलाई अन्त्य गर्न २०१७ सालमा तत्कालिन सरकारले पञ्चायत शासन लागु गर्दाको बखतमा उठेको युवा पुस्ताको आवाजलाई संगठित गर्दै तरुण दल अघि बढेको उहाँको भनाई छ । कांग्रेस पार्टीको मुलधारको रुपमा तरुण दलले भूमिका खेलिरहेको सहमहामन्त्री डिनाले बताउनुभयो । देशले आवश्यकता महशुस गरिरहेका बखत युवा पुस्ता पलायन भइरहेको र युवा पुस्ताको व्यवस्थापनको विषय बहसको विषय बनिरहेको उहाँले बताउनुभयो ।

आगामी दिनमा तरुण दलले युवालाई नेपालमा नै व्यवस्थापन गर्ने र उत्पादनमा केन्द्रीत गर्ने योजनाका साथ अघि बढ्नुपर्ने उहाँले सुझाव दिनुभयो । तरुण दलले युवाको व्यवस्थापन तथा विकासका विषयलाई मुद्दा र आन्दोलनको रुपमा अघि बढाउनु पर्ने उहाँले बताउनुभयो । तरुण दलले हरेक वर्ष कात्तिक १० मा आफ्नो स्थापना दिवस मनाउने गरेको छ । तरुण दल मकवानपुरका अध्यक्ष लिलानाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्वसभापति रघुरमण न्यौपानेको पनि सहभागिता रहेको छ ।