बिस्तारै मोटरसाइकल चलाउने प्रतियोगितामा सहभागीहरु ।

हेटौंडाः जेसीआई हेटौंडाको आयोजनामा भएको बिस्तारै मोटरसाइकल चलाउने प्रतियोगितामा हेटौंडा–११ का सुकदेव सदाशंकर प्रथम हुनुभएको छ । जेसीआई हेटौंडाको जेसीज सप्ताहअन्तर्गत बिहिबार बिहान भएको प्रतियोगितामा हेटौंडा–८, कमानेका गोपाल थापा द्वितीय हुनुभएको छ । यस्तै भीमफेदी गाउँपालिकाका कमल घलान तृतीय हुनुभएको छ । हेटौंडा–४, शितलमहलचोकदेखि हुप्रचौरको मुख्य गेटसम्मको दूरीमा प्रतियोगिताको आयोजना गरिएको थियो ।

प्रतियोगितामा २६ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई शुक्रबार जेसीज सप्ताहको समापन कार्यक्रममा पुरस्कार स्वरुप हेल्मेट र प्रमाणपत्र प्रदान गरिने छ । जेसीआई हेटौंडाका अध्यक्ष विकेशलाल श्रेष्ठको सभाध्यक्षमा तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्वराज खड्काको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको हो ।