मकवानपुर जिल्ला क्रिकेट टिम ।

हेटौंडाः बागमती प्रदेशस्तरीय यु–१९ क्रिकेट टिम छनोटका लागि बागमती प्रदेश क्रिकेट संघले आयोजना गरेको छनोट खेलमा मकवानपुरले खेलेको ४ खेलमा एउटा पनि जित निकाल्न सकेको छैन । बिहिबार काठमाडौंस्थित तल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मकवानपुर काठमाडौंसँग पराजित भएको छ । छनोट प्रतियोगिताअन्तर्गत ४ खेलमध्ये ३ खेलमा मकवानपुर पराजित भएको छ भने एक खेल वर्षाका कारण अनिर्णित बन्न पुग्यो ।

छनोट प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार मकवानपुरले भक्तपुर जिल्लाको सामना गर्दैछ । भक्तपुर पनि राम्रो टिम भएकोले मकवानपुरलाई जित निकाल्न कठिन हुने मकवानपुर जिल्ला क्रिकेट संघका सचिव एवम् अम्पायर बिनोद कुमार बानियाँ बताउनुहुन्छ । छनोट प्रतियोगिता भए पनि जिल्लाको किशोर टिमको प्रदर्शन सन्तोषजनक नहुनु चिन्ताको विषय हो । मकवानपुरको व्याटिङ कमजोर रहेको बानियाँ बताउनुहुन्छ । घरेलु मैदानमा मकवानपुर नुवाकोटसँग १ रनले पराजित भयो भने चितवनसँग ३ रनले पराजित हुन पुग्यो । ललितपुरसँगको खेलमा भने वर्षा बाधक बन्दा खेलको स्पष्ट नतीजा निक्लिएन ।

बिहिबारको खेलमा काठमाडौंले मकवानपुरलाई ७ रनले पराजित गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको काठमाडौंले निर्धारित ४० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । काठमाडौंका नितेश पटेलले ३९ बलमा ५१ रन बनाए । निश्चल श्रेष्ठले ७५ बलमा ४१ रन बनाए । शार्दुल भट्टले ६८ बलमा ३१ रन र विजय धितालले २६ बलमा १३ रन बनाए ।

बलिङतर्फ मकवानपुरबाट रोहित ठाकुरले २० बलमा र एमडी राजा अहमदले ३९ बलमा समान ३/३ विकेट लिए । यस्तै प्राञ्जल उपाध्यायले २७ बलमा १ विकेट मात्र लिएका थिए । १ सय ५४ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रिएको मकवानपुरले ३९ ओभर ५ बलमा १ सय ४७ रन बनाउँदै अल आउट हुन पुगेको थियो । मकवानपुरका टिम कप्तान गोकुल अधिकारीले ६६ बलमा ४८ रन बनाएका थिए । आशिक अधिकारीले ४५ बलमा १९ रन बनाएका थिए । गौरव श्रेष्ठले १५ बलमा १७ रन र शिवशक्ति महतोले १८ बलमा ११ रन बनाएका थिए ।

बलिङतर्फ काठमाडौका नितेश कुमारले १५ बलमा, श्रदुल भट्टले १६ बलमा र दयान्नद मण्डलले ३७ बलमा समान २/२ विकेट लिएका थिए । शनिबारदेखि विराटनगरमा हुन लागेको वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश टिम तयार पार्न छनोट प्रतियोगिताको आयोजना गरेको हो ।