हेटौँडाः हेटौँडा–१, जरुवाटोल घर भई हाल हेटौँडा–१०, टिसिएनरोड बस्ने २२ वर्षीय रोनक खड्केलाई सांघातिक आक्रमण गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । खड्केलाई आक्रमण गर्ने हेटौँडा–११ का २९ वर्षीय विशाल तामाङ र १८ वर्षीय सनिस घिमिरेलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । अर्का एकजना फरार रहेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान ११ बजेर ३५ मिनेटको समयमा हेटौँडा–१०, टिसिएनरोडस्थित डेराकोठामा बसिरहेका खड्केलाई आक्रमण भएको थियो । खुकुरी प्रहारबाट खड्केको टाउको, अनुहार, गर्दनसँगै शरीरका विभिन्न भागमा चोट लागेको छ । पक्राउ परेका दुईजनालाई ५ दिनको म्याद अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । फरार रहेका अर्का एकजनाको पनि खोजी कार्य गरिरहेको प्रहरीले जानकारी दिएको छ ।