पद तथा गोपनियताको सपथ ग्रहण गर्नु हुँदै बागमती प्रदेशका लोक सेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठ

हेटौँडाः बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।

प्रदेश प्रमुख देवकोटाले आइतबार मात्र श्रेष्ठलाई आयोगको अध्यक्ष पदमा नियुक्त गर्नुभएको थियो । सात महिना रिक्त रहेको आयोगको अध्यक्षमा नियुक्तिका लागि प्रदेश सरकारले श्रेष्ठको नाम सिफारिस गरेको थियो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले आयोगको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख देवकोटाले प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा (१) अनुसार गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा (२) बमोजिम श्रेष्ठलाई लोकसेवा आयोगको अध्यक्ष नियुक्त गर्नुभएको हो ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ का श्रेष्ठले गत शुक्रबार मात्रै लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तालिम केन्द्रबाट अनिवार्य अवकास पाउनुभएको थियो । श्रेष्ठले बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयमा निर्देशकका रुपमा पनि कार्य गर्नुभएको थियो । निजामति सेवाको सहसचिव (११औं तह) बाट अनिवार्य अवकास पाए लगत्तै श्रेष्ठले प्रदेश सरकारको लोकसेवा आयोगको अध्यक्ष पदको जिम्मेवारी पाउनुभएको हो ।