हेटौँडाः चितवन जिल्लामा दुर्घटनामा परी एकैदिन २ जनाको मृत्यु भएको छ भने एक जनाको कंकाल फेला परेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारीअनुसार चितवन जिल्लाको भरतपुर महानगरपालिका–१८, हरिहरपार्कस्थित नारायणी नदीको किनारमा मानव कंकाल फेला परेको छ ।
बुधबार नारायणी नदीको किनारमा मानव कंकाल रहेको भनी स्थानीयले जानकारी गराएपछि प्रहरी टोली खटिएर मुचुल्का पश्चात पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका–४, नवदुर्गाचोकमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बुधबार भरतपुरबाट कल्याणपुरतर्फ जाँदै गरेको ना २५ प ५७९९ नम्बरको मोटरसाइकल ट्रेनिङ गरी भित्री बाटो जाने क्रममा विपरित दिशाबाट जाँदै गरेको प्र–३–०३००१ प २४९६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर २४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही दिशाबाट जाँदै गरेको बा १ च १०४९ नम्बरको कारमा ठोकिएर दुवै मोटरसाइकल चालक घाइते भएका थिए ।
ठक्करबाट ५७९९ नम्बरका चालक राप्ती नगरपालिका–७ का १९ वर्षीय सफल थापा र २४९६ नम्बरका चालक भरतपुर महानगरपालिका–५ का ३१ वर्षीय रितेश यादव घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा २४९६ नम्बरका चालक यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, चितवनको ईच्छाकामा गाउँपालिका–६, रिद्दिखोलामा कारको ठक्करबाट घाइते अवस्थामा फेला परेका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय देव बहादुर गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार मुग्लिङ नारायणगढ सडक खण्डमा गुरुङ टाउको, खुट्टा र हातमा चोट लागी घाइते अवस्थामा सडक छेउमा फेला परेका थिए । गुरुङलाई नारायणगढबाट पोखरा जाँदै गरेको ग १ च ६२१५ नम्बरको कारको ठक्कर दिएर घाइते भएका थिए । गुरुङलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कार चालक कास्की जिल्लाको पोखरा महानगरपालिका–१४ का ४९ वर्षीय ओम बहादुर थापालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मुग्लिङ लगिएको प्रहरीले जानकारी दिएको छ ।