हेटौंडाः श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्यसमिति मकवानपुरद्वारा आयोजित विश्व अहिंसा दिवस सम्पन्न भएको छ । अहिंसा दिवसको अवसरमा पाँच दिवसीय ‘शाकाहारी अभियान’को शनिबार अन्तिम दिन हेटौँडाको बुद्धचोकमा कोणसभा गरी सम्पन्न गरेको प्रणामी युवा परिषद् नेपाल जिल्ला अध्यक्ष सुजन तिमल्सिनाले जानकारी दिनुभयो ।
कार्यक्रम असोज १५ गतेदेखि सुरु भएको थियो । अभियानको पहिलो दिन हेटौंडा–८, बज्रगुरु मेडिकल चोक, दोस्रो दिन हेटौँडा–१६, चिसापानी र तेस्रो दिन मनहरी बजारमा कार्यक्रम गरिएको तिमल्सिनाले बताउनुभयो । कार्यक्रमको मुख्य उद्देश्य शाकाहारी समाज निर्माण गर्दै बलिजन्य प्रथा रोक्नु रहेको उहाँको भनाइ छ । अभियानको क्रममा प्लेकार्ड बोकेर शाकाहार अभियान तथा बलिप्रथा विरुद्ध सचेतना अभिवृद्धिको प्रयास गरिएको थियो ।
अभियानमा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका राष्ट्रिय उपाध्यक्ष प्रमोद वाग्लेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका प्रतिनिधि, युवा परिषद् केन्द्रका सदस्य एवम् प्रतिनिधि, श्रीकृष्ण प्रणामी बाइजुराज महिला समितिका केन्द्रीय प्रतिनिधि एवम् बागमती प्रदेश संयोजक, श्रीकृष्ण प्रणामी युवा परिषद् बागमती प्रदेश उपाध्यक्ष, सदस्य एवम् प्रतिनिधिको सहभागिता थियो ।
यस्तै, ब्रह्मकुमारी राजयोग सेवाकेन्द्र मकवानपुर, विश्व हिन्दू महासंघ जिल्ला कार्यसमिति मकवानपुर, विश्व हिन्दू महासंघ हेटौंडा नगर समिति, कर्मकाण्डी परिवार, ज्योतिष परिषद्लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।