हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । शनिबार एक कार्यक्रमकाबीच हेटौँडा उपमहानरपालिकाकी प्रमुख मीना कुमारी लामाले बालमैत्री वडा घोषणा गर्नुभएको हो ।
यसअघि हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर २, ४, ७, ८, ९, १० र १७ नम्बर वडा निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेको छ । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नका लागि वडाले करिब दुई वर्षदेखि विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन गरेर घोषणा गर्न सफल भएको वडाध्यक्ष जुना दहालले बताउनुभएको छ ।
नेपाल सरकारले निर्धारण गरेको बाल अधिकारका महत्वपूर्ण पक्षहरु बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताका लागि संस्थागत विकासका ५१ वटा सूचकहरु पूरा गरेको उहाँले बताउनुभयो । वडालाई बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले निर्धारण गरेका ५१ वटा सूचकहरुमा अभ्यास गरी ५१ सूचकमध्ये ४४ वटा सूचकमा शतप्रतिशत नतिजा प्राप्त भएको उहाँले जानकारी दिनुभयो । बाँकी सूचकमा ८० देखि ९९ प्रतिशतसम्म नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अवस्थामा आइपुगेको उहाँको भनाइ छ ।
शनिबार बिहान निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुअघि वडा कार्यालय परिसरमा भेला भई बिहान १० बजे वृहत् प्रभातफेरीको आयोजना गरेर वडाको परिक्रमा गरिएको थियो । कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम र महिला विभाग प्रमुख बिष्णु कुमारी लामिछानेको उपस्थिति रहेको थियो ।