कुलेखानी–फाखेल सडकखण्डमा खोलाले बगाएको सडक बनाउँदै । फाइल तस्वीर ।

फाखेलः बाढी र पहिरोले बन्द हेटौंडा–फाखेल–काठमाडौं सडक भोलि आइतबारबाट संचालनमा ल्याउने तयारी भइरहेको छ । असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोले विभिन्न स्थानमा क्षति पुर्याएपछि अवरुद्ध रहेको हेटौँडा–फाखेल–काठमाडौं सडक आइतबार दिउँसोबाट सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

३ स्थानमा डाइभर्सन गरेर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केले जानकारी दिनुभएको छ । उहाँका अनुसार सो सडकखण्ड अन्तर्गत कुलेखानी ड्याम नजिकैको पुल, महालक्ष्मी खोला पुल र महालक्ष्मी खोलाको कटान क्षेत्रमा डाइभर्सन निर्माण गरी सडक सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलले फाखेल सडक खण्डमा भएका अवरोध पन्छाउने क्रम अन्तिम चरणमा रहेकाले आइतबारबाट सडक सञ्चालन आउने बताउनुभयो । “फाखेल सडक खण्ड आइतबार दिउँसो १ बजेबाट सञ्चालन गर्ने विषयमा छलफल भएको छ । हामीले तत्काल यातायात सञ्चालनका लागि आवश्यक पूर्वाधारहरु तयार पारेका छौं”, निर्देशक पोखरेलले भन्नुभयो, “अब कुनै ठूलो समस्या नआए आईतबार दिउँसोबाट सवारी साधन निर्वाध सञ्चालन गर्न सकिन्छ ।” निर्देशक पोखरेलले कुलेखानी ड्याम तहको पुलको पहँुच मार्ग भत्किएको भन्दा केही तलबाट डाइभर्सन निर्माण गरेको जानकारी दिनुभयो ।

उहाँले शनिबार रातिसम्ममा डाइभर्सनको काम पूर्णरुपमा सकिने जानकारी दिनुभएको छ । महालक्ष्मी खोलाले बगाएको सडकको सबै ठाउँमा आवश्यकता अनुसार मर्मत र अप्ठ्यारो ठाउँहरुमा डाइभर्सन बनाएर बाटो क्लियर गरेको उहाँको भनाई छ । निर्देशक पोखरेलका अनुसार फाखेल सडक भएर शनिबार केहि मोटरसाइकलहरु सञ्चालनमा आएका छन् भने उक्त सडक खण्डमा फसेका सवारी साधनहरु समेत गन्तव्यतर्फ लागेका छन् ।

यता कुलेखानी सिस्नेरीतर्फको सडक सञ्चालनका लागि भने सोमबारसम्मै कुर्नुपर्ने उहाँको भनाई छ । उक्त सडक खण्डमा बाढीले सडक बगाएको ठाउँमा तत्काल बाटो निर्माण गर्न नसकिने भएपछि खोलाको बाटो भएर सवारी साधन सञ्चालनको व्यवस्था मिलाउने काम भइरहेको पोखरेलले जानकारी दिनुभयो ।