हेटौंडाः हेटौंडा–५, पिप्लेमा बिहिबारबाट खसी कप फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा पिप्ले युथ एकेडेमीले सुपर भेट्रान्स पिप्लेलाई एक दर्जन गोल हानेको छ । भेट्रान्सको तर्फबाट एक गोल पनि हुन सकेन । पिप्ले युथ एकेडेमीले नियमित प्रशिक्षण गराइरहेको १३ वर्ष मुनिको टिम हो भने सुपर भेट्रान्स ४० वर्ष भन्दा बढी उमेर समूहको टिम हो ।
८ ए साईड खेलाइएको प्रतियोगिताको पहिलो हाफ गोलरहित बराबरी भएपनि दोश्रो हाफमा भने एकेडेमीका खेलाडीहरुले गोलको वर्षा गरेका थिए । खेलमा दुई खेलाडीले ह्याट्रीक गरे । एकेडेमीका दिप्सन अस्थानी मगरले ४ गोल गरे भने रिदम बलले ३ गोल गरेका थिए । त्यस्तै किसन थापा मगरले २, देवानन्स खरेल, सक्षम श्रेष्ठ र एलेक्स थापा मगरले समान १/१ गोल गरे । दिप्सन अस्थानी म्यान अफ द म्याच घोषित भए । उनलाई एउटा कुखुरा उपहारस्वरूप प्रदान गरिएको थियो ।
पिप्ले क्लबका सल्लाहकार सदस्य सुदीप सापकोटाले उद्घाटन खेलमा उत्कृष्ट प्रदर्शन गरेका रिदम बल र दीप कार्कीलाई प्रोत्साहन स्वरुप नगद ५/५ सय रुपैयाँ प्रदान गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीको हेटौँडा उपमहानगर समितिका सभापति ध्रुव बिष्टले पनि किसन थापा मगरलाई नगद ५ सय रुपैयाँ प्रदान गर्नुभयो । ११ टिम सहभागिता प्रतियोगिताको फाईनल खेल असोज २२ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिता बिजेता टिमले ३० केजिको खसी, उपविजेताले २० केजीको खसी र उत्कृष्ट तथा सर्वाधिक गोलकर्ता खेलाडीले लोकल कुखुराको भाले उपहारस्वरूप प्राप्त गर्ने आयोजकले जनाएको छ । म्यान अफ द म्याचलाई पनि एउटा भाले प्रदान गरिने जनाएको छ ।
क्लबले बिगत ३० वर्षदेखि वडा दसैंको अवसरमा खसी कप प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लबका अध्यक्ष सुविन घिमिरेले परम्परा बन्दै गएको प्रतियोगितालाई निरन्तरता दिएको बताउनुभयो । क्लबका अध्यक्ष सुविन घिमिरेको अध्यक्षता तथा वडाध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।