हेटौँडाः बागमती प्रदेश सरकारले ४ रिक्त निकायमा सचिवहरुको जिम्मेवारी तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले पठाएका ३ सचिवहरुलाई पदस्थापन गर्ने निर्णय गरेसँगै रिक्त ४ निकायमा जिम्मेवारी तोकेको हो ।

केही महिनादेखि रिक्त ४ संरचनामा सचिवको जिम्मेवारी तोकिएको हो । प्रदेशका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालले मन्त्रिपरिषद्को निर्णय अनुसार सचिव रिक्त रहेका निकायमा जिम्मेवारी तोक्नुभएको हो । साउनमा सचिवहरुको सरुवा भएसँगै अर्को जिम्मेवारी तोकिएको थिएन । संघीय सरकारले ३ सचिवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएसँगै उनीहरुलाई जिम्मेवारी दिइएको हो । जस अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रिक्त एक सचिव पदमा विदुर खनाललाई जिम्मेवारी तोकिएको छ । उहाँलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय सुधार महाशाखाको जिम्मेवारी दिइएको छ । प्रदेश नीति तथा योजना आयोगको सचिवमा केशवराज सुवेदी, लोकसेवा आयोगमा तुलसीनाथ गौतमलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमा संघीय सरकारले तोकेर पठाएका सचिव मोहन शाक्य, वन तथा वातावरण मन्त्रालयमा केदार बराललाई पदस्थापन गरिएको छ । प्रदेशका २ मन्त्रालय भने अझै दोहोरो जिम्मेवारीमा संचालन गर्नुपरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको रिक्त सचिव पदमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन महाशाखा प्रमुख श्रवण कुमार पोखरेललाई दोहोरो जिम्मेवारी दिने निर्णय अनुसार जिम्मेवारी तोकिएको छ ।

यसअघि नै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पूर्ण बहादुर दर्जी दोहोरो जिम्मेवारीको रुपमा कामकाज गर्दै आउनुभएको थियो । उहाँको दरबन्दी प्रदेशसभा सचिवालयमा रहेको छ । उहाँ प्रदेशसभाको सचिवालय सचिवको रुपमा पनि कामकाज गर्दै आउनुभएको छ ।