हेटौँडा–४ स्थित भुटनदेवी माविमा एसईईमा सहभागी विद्यार्थी । फाइल तस्वीर ।

हेटौँडाः माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) २०८० को ग्रेडवृद्धि मौका परीक्षामा मकवानपुरका ३९.७६ प्रतिशत विद्यार्थी उत्र्तीण भएका छन् । सोमबार प्रकाशित भएको नतिजा अनुसार मकवानपुरका ३९.७६ प्रतिशत विद्यार्थी उत्र्तीण भएका हुन् ।

साधारण र प्राविधिक गरी तीन हजार तीन सय ५५ जना विद्यार्थीले परीक्षा दिएकोमा एक हजार तीन सय ३४ जना विद्यार्थी परीक्षामा उत्र्तीण भएका छन् । साधारणतर्फ परीक्षामा सहभागी तीन हजार एक सय ७६ जना विद्यार्थी मध्ये एक हजार दुई सय ६२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै प्राविधिकतर्फ एक सय ७९ जना विद्यार्थीले परीक्षा दिएकोमा ७२ जना उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जानकारी दिएको छ ।

साधारणतर्फ ३.२ देखि ३.६ जिपिए ल्याउने एक जना, २.८ देखि ३.२ जिपिए ल्याउने एक सय ५९ जना, २.४ देखि २.८ जिपिए ल्याउने आठ सय २७ जना, २.० देखि२.४ जिपिए ल्याउने दुई सय ७० जना र २.० जिपिए ल्याउने एक जना रहेका छन् । प्राविधिकतर्फ २.८ देखि ३.२ जिपिए ल्याउने १६ जना र २.४ देखि २.८ जिपिए ल्याउने ५६ जना रहेका छन् । ग्रेडवृद्धि मौका परीक्षा साउन २३ गतेदेखि साउन ३१ गते सम्म संचालन भएको थियो । परीक्षामा करिब ९ प्रतिशत विद्यार्थी अनुपस्थित भएका थिए ।

विद्यार्थीले परीक्षामा एनजी ल्याएको वा उपस्थित हुन नपाएको सबै विषयमा परीक्षा दिन पाउने व्यवस्था मिलाइएको थियो । गत वर्षसम्म विद्यार्थीले ग्रेडवृद्धि मौका परीक्षामा दुईवटा विषयको परीक्षा मात्र दिन पाउने व्यवस्था थियो । मकवानपुर जिल्लाबाट २०८० सालको एसर्ईई परीक्षामा पाँच हजार नौ सय १९ जना विद्यार्थी सहभागी भएका थिए । जसमा तीन हजार सात सय ६८ जना विद्यार्थीको नतिजा एनजी आएको थियो ।