हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको प्राधानाध्यापक (प्रअ)हरुको बैठक बुधबार बस्ने भएको छ । मंगलबार एक सूचना जारी गर्नुहुँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बुधबार प्रअहरुको बैठक आह्वान गर्नुभएको हो ।

बैठकमा पालिका अन्तर्गतका ५० सामुदायिक विद्यालयका प्रअहरु सहभागी हुने गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद राईले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा २०८१ बैशाखदेखि हालसम्म विद्यालयमा थालनी भएको र सम्पन्न गरेको उदाहरणीय असल अभ्यास, योजना तथा कार्यक्रमबारे छलफल हुनेछ ।

यस्तै, नयाँ शैक्षिक सुधारको कार्यमा गाउँपालिकाबाट कस्तो सहयोगको अपेक्षा र गाउँपालिकाले शिक्षा योजनामा समावेश गर्नुपर्ने कुराहरु सोधपुछ र छलफल हुनेछ ।
बैठकका अवसरमा पालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत दर्जीसँग परिचयात्मक कार्यक्रम पनि हुनेछ । दर्जी शुक्रबारमात्र बागमती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा पदस्थापित हुनुभएको थियो ।