हेटौंडाः मकवानपुरमा पछिल्लो समय बैंकिङ कसुरका घटना बढेको पाइएकोे छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को भदौ मसान्तसम्म सबैभन्दा बैंकिङ कसुरका मुद्दा पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार चालुु आर्थिक वर्षको दुई महिनामा ३३ वटा मुद्दा दर्ता भएको छ । यो संख्या प्रहरीमा दर्ता भएको अन्य मुद्दाको संख्यामा सबैभन्दा बढी हो । यही अवधिमा प्रहरीमा अभद्र व्यवहारका छ वटा, लागुऔषधका १७ वटा, चोरी तथा डाँकाका ११ वटा, जबर्जस्तीकरणीका चार वटा र बाल यौन दुरुपयोगका तीन घटना दर्ता भएको छ । दुई महिनाको अवधिमा प्रहरीमा एक सय ६४ मुद्दा दर्ता भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा पनि प्रहरीमा सबैभन्दा बढी बैंकिङ कसुरका एक सय ८४ वटा मुद्दा दर्ता भएको थियो । यस्तै लागुऔषधका एक सय ५८ वटा, अभद्र व्यवहारका एक सय ३१, जबर्जस्तीकरणीका ५४ वटा र बालयौन दुरुपयोगका १८ वटा मुद्दा दर्ता भएको थियो ।
मकवानपुर प्रहरीले चालु आर्थिकको दुई महिनामा चार सय दुई किलो गाँजा बरामद गरेकोे छ । सोही अवधिमा प्रहरीले नाइट्रोभेट तीन सय क्याप्सुल बरामद गरेको छ । लागुऔषध तथा लागुऔषध ओसारपसारमा संलग्न २९ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा नेपाली २४ जना र पाँच जना विदेशी नागरिक रहेका छन् । प्रहरीले गत आर्थिक वर्षमा २०८०/८१ मा तीन हजार नौ सय ३६ किलो गाँजा, १३ किलो अफिम, कोेरेक्स एक हजार दुई सय बोतल र नाइट्रोभेट दुई हजार पाँच सय ट्याबलेट बरामद गरी दुई सय ४९ जनालाई पक्राउ गरेका थिए ।
चालु आर्थिक वर्षको साउन र भदौ महिनाको मसान्तसम्ममा भन्सार छलेर ल्याएको अवैध कपडा तथा खाद्यान्न र सवारी साधनबाट डेढ करोढ रुपैयाँभन्दा बढीको राजश्व संकलन भएको छ । उक्त अवधिमा अवैध कपडा तथा खाद्यान्नबाट एक करोड चार लाख ६५ हजार रुपैयाँ र सवारी साधनबाट ५० लाख गरी एक करोड ५४ लाख ६५ हजार राजस्व संकलन गरेको हो । प्रहरीले उक्त अवैध सामग्रीहरुलाई ललितपुरको हरिहरभवनस्थित राजश्व कार्यालयमा र बाराको पथलैया पठाइएको छ । गएको बुधबार मात्र मकवानपुर प्रहरीले एक करोड ३५ लाखको लत्ताकपडा तथा खाद्यान्न सामग्री बरामद गरेको थियो ।
यस्तै मकवानपुर प्रहरीले चालु आर्थिक वर्षको दुई महिनामा २५ वटा घरेलु हिंसा सम्बन्धी मुद्दाको मिलापत्र गराएको छ । दुई महिनामा ५३ वटा घरेलु हिंसाका घटना भएकोमा २५ वटा मुद्दाको मिलापत्र भएको हो । दर्ता भएका मुद्दामध्ये १७ वटा मुद्दाको फैसला अदालतले गरेको छ भने अब बाँकी ११ वटा छ । गत आर्थिक वर्षमा प्रहरीमा तीन सय आठ वटा घरेलु हिंसाका उजुरी आएकोमा प्रहले एक सय ८० वटा र अदालतले ८५ वटा मुद्दाको फैसला गरेको थियो ।
चालु आर्थिक वर्षको दुई महिनामा प्रहरीमा ६३ जना मानिस हराएको निवेदन आएकोमा ४५ जना फेला पार्न सफल भएको छ भने १८ जना फेला पर्न बाँकी रहेको जनाएको छ । गत आर्थिक वर्षमा तीन सय ३८ वटा मानिस हराएको भनी प्रहरीमा निवेदन आएकोमा दुई सय ६६ जना फेला पारेको थियो ।