रक्तदान गर्दै रक्तदाता ।

हेटौँडाः हेटौँडा अटोमोबाइल्स एसोसिएसनको आयोजनामा शनिबार हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा १ सय २ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रम हेटौँडा–१०, बुद्धचोकमा भएको थियो । रक्तसंचार केन्द्र हेटौँडाका प्राविधिक सहायक किशोर सापकोटाका अनुसार चालु आर्थिक वर्षमा यो नै सबैभन्दा बढी रगत संकलन गर्ने गरी आयोजना भएको कार्यक्रम हो । हेटौँडा अटोमोवाइल्स एसोसिएसनले हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । रक्तदान कार्यक्रममा ७ जना महिला र ९५ जना पुरुषले रक्तदान गरेको सापकोटाले बताउनुभयो ।

आउँदो शनिबार असोज १२ गते पदमपोखरीमा स्वयमसेवी रक्तदाता समाजको आयोजनामा रक्तदान कार्यक्रम हुँदैछ । अहिले हेटौँडामा रगतको माग र वितरण सहज रहेको रक्तसञ्चार केन्द्र हेटौँडाले जनाएको छ । गत बुधबार एक सय युनिट रगत चितवन पठाइएको थियो । हेटौँडाको माग सन्तुलनमा रहेको र रक्तदान कार्यक्रमबाट संकलित रगत पर्याप्त हुँदा चितवन पनि पठाउने गरिन्छ । चितवनमा मकवानपुर जिल्लाबाट स्वास्थ्य उपचारका लागि चितवन जानेको संख्या उल्लेख्य रहने गरेको छ ।