हेटौँडाः ठूलो परिमाणमा लागुऔषध गाँजासहित २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान ५ बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चौकीमा प्रहरीको नियमित सुरक्षाजाँचको क्रममा दुई सय २३ केजी लागुऔषध गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको जनाएको छ ।
हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बा २१ च ५२२६ नम्बरको पिकअप गाडीबाट प्रहरीले गाँजा बरामद गरेको हो । प्रहरीले गाँजासँगै धादिङ जिल्लाको थाक्रे गाउँपालिका–४ का ३४ वर्षीय जीवन मगर र थाक्रे–६ का ३० वर्षीय प्रदिप क्षेत्रीलाई पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद लिएर पक्राउ परेका जीवन र प्रदिपलाई हिरासतमै राखेर अनुसन्धान गर्ने अनुमति पाएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा हालै प्रहरी निरीक्षकको सरुवा भएको हो । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाटै राजमार्ग सुरक्षाअन्तर्गत रातामाटे प्रहरी विटमा प्रहरी खटिने गरेको छ ।