हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार ३ खेल बराबरीमा रोकिएको छ । शुक्रबारका लागि निर्धारण गरिएको एक खेल भने स्थगित भएको छ ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा एक खेल र हेटौंडा–११ स्थित सिमलटार मैदानमा दुई खेल गरी ३ खेल बराबरीमा रोकिएको हो । गौरीटारको न्यू डाँफे क्लब र रियल स्टार क्लबबीचको खेल बराबरीमा राकिएको छ । यस्तै, सिमलटारको ७ नम्बर फुटबल क्लब र सानोपोखराबीचको खेल एक–एक गोलको बराबरीमा रोकिएको छ भने हटिया स्पोर्टस् र पदमपोखरीबीचको खेल भने गोल रहित बराबरीमा रोकिएको हो । यस्तै, एफसी मल्टिभिजन र एफसी बिचको खेल ३–० गोल अन्तरमा स्थगित भएको छ । एफसी मल्टिभजले ३–० गोलको अग्रतामा रहँदा खेल सकिन १ मिनेट बाँकी रहँदा विवाद भएका कारण स्थगित भएको हो ।
प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।