कार्यक्रमको क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः हेटौंडा–५ स्थित सिद्धार्थ शिशु सदन बोर्डिङले बालबालिकाका लागि मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाका लागि मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेको हो ।

बोर्डिङका प्रिन्सिपल निर्मल पराजुलीको प्रमुख आतिथ्य तथा बाल क्लबका अध्यक्ष एन्जल लामाको सभाध्यक्षतामा मनोरञ्जनात्मक कार्यक्रम भएको हो । बालबालिकामा लगानी सुनिश्चत भविष्यको थालनी भन्ने नारालाई सार्थक बनाउन कार्यक्रम आयोजना गरेको विद्यालयका शिक्षक सुन्दर लुईंटेलले जानकारी दिनुभएको छ ।

विद्यालयका कक्षा–१० सम्मका विद्यार्थीको सहभागितामा खुला वक्तृत्वकला प्रतियोगिता, कविता वाचन, नृत्य र गायनलगायतको प्रतियोगिता आयोजना भएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रतिस्पर्धात्मक भन्दा पनि खुलारुपमा कार्यक्रम गरेकाले आइतबार कार्यक्रममा सहभागीहरुलाई पुरस्कार प्रदान गरिनेछ । बालबालिकाको नेतृत्व विकास एवम् उनीहरुलाई मनोरञ्जन गराउने उद्देश्यले शिक्षकहरुले पनि सामूहिक नृत्य प्रस्तुति गरेको उहाँको भनाइ छ ।

कार्यक्रममा बोर्डिङका प्रावि संयोजक पुष्प पुन मगर, मावि संयोजक अनु गौतम, बाल क्लबका सदस्य आदित्य पराजुलीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालयका सह–प्रधानाध्यापक केदार न्यौपानेले कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो ।