विद्यार्थीको शिविरमा दाँतको जाँच गरिँदैको तस्वीर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–६ स्थित जनप्रिय माध्यमिक विद्यालयमा भएको निःशुल्क दन्त जाँच तथा परामर्श शिविरमा एक हजार ४ सय जना विद्यार्थीको दाँतको जाँच गरिएको छ । मंगलबार जनप्रिय मावि प्राविधिक शिक्षालयको सहकार्यमा भएको शिविरमा विद्यार्थीको दाँत जाँच गरिएको युवा परिषद् मूलमिलावा धामका कोषाध्यक्ष मोहन खतिवडाले जानकारी दिनुभयो ।

हेटौडा उपमाहानगरपालिका–६ मा रहेको श्री सिद्धस्थली रूरल कम्युनिटी अस्पताल र श्रीकृष्ण प्रणामी युवा परिषद् मूल मिलावाधामको समन्वयमा निःशुल्क दन्त परीक्षण तथा परामर्श कार्यक्रम गरिएको हो । खतिवडाका अनुसार धेरैजना विद्यार्थीको दाँतमा किराको समस्या दखिएको थियो । दाँतमा किराको समस्या देखिएका एक सय ९० जना विद्यार्थीको अस्पतालमा गएर थप जाँच गरिएको उहाँको भनाइ छ । शिविरमा दन्त चिकित्सक डा. रसिसा मैनालीले कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीको जाँच गर्नुभएको थियो ।

शिविरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्य रहेको थियो । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल मूलमिलवाधामका उपाध्यक्ष्य रमेशप्रसाद वाग्लेको सभाअध्यक्षतामा शिविर भएको हो ।

शिविरमा सिद्धस्थली अस्पतालका सञ्चालक गोमा गौतम, जनप्रिय माविका प्रधानाध्यापक भुपेन्द्र चौलागाईं र जनप्रिय माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहनप्रसाद बस्ताकोटीको उपस्थिति रहेको थियो ।