म्यान अफ द म्याचलाई ट्रफी हस्तान्तरण गर्नुहुँदै राष्ट्रिय फुटबल टिमका खेलाडी अञ्जन विष्ट ।

हेटौँडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार ६ खेल सम्पन्न भएको छ । हेटौंडा–६ स्थित गौरीटार रंगशाला र हेटौंडा–११ स्थित सिमलटार मैदानमा तीन–तीन गरी ६ खेल सम्पन्न भएको हो । प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलहरुमा पशुपति युवा क्लब, एफसी पोताला क्लब, सक्षम युवा क्लब, परेली युवा क्लब, न्यु डाँफे र हेटौंडा फुटबल एकेडेमी विजयी भएको छ ।

बिहीबार वर्षाका कारणले सञ्चालन हुन नसकेर शुक्रबार बिहान हेटौँडा–११, स्थित सिमलटार मैदानमा भएको खेलमा एफसी चाइना क्वाटरलाई १–० गोलअन्तरले हराउँदै पशुपति युवा क्लब विजयी भएको छ भने हेटौँडा–६, स्थित गौरीटार रंगशालामा भएको खेलमा विजय युथ क्लबलाई ५–३ गोलअन्तरले हराउँदै एफसी पोताला विजयी भएको हो । पशुपतिको जीतमा निश्चल मोक्तानले निर्णायक गोल गरे । म्यान अफ द म्याच निर्णायक गोलकर्ता मोक्तान घोषित भएका छन् । यस्तै एफसी पोतालाको तर्फबाट ऋषि मोक्तानले ४ गोल गरे ।

सिमलटार मैदानमै भएको शुक्रबारको दोस्रो खेलमा परेली युवा क्लबले हेटौंडा भेट्रान्सलाई ५–० गोलले हराएको छ भने तेस्रो खेलमा हेटौंडा फुटबल एकेडेमीले महाबीर क्लबलाई १–० गोलअन्तरले हराएको छ । गौरिटार रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा सक्षम युवा क्लबले एफसी इन्टरनेटलाई २–० ले हराएको छ भने तेस्रो खेलमा न्यु डाँफे युवाले एफसी इन्टरनेट सिटीलाई ५–१ गोलले हराएको छ ।

जिल्ला लिग फुटबल अन्तर्गत आज शनिबार दिउँसो गौरिटार रंगशालामा पहिलो खेल पदमपोखरी युथ क्लब र सानोपोखरा बीच हुनेछ भने दोस्रो खेलमा ७ नम्बर फुटबल क्लब र एफसी मल्टिभिजनबीच खेल हुनेछ । यस्तै सिमलटार खेलमैदानमा आज शनिबार दिउँसो पहिलो खेल रियल स्टार युवा क्लब र गोरखा ब्वाइज बीच हुनेछ भने दोस्रो खेलमा न्यू कम्बाइन क्लब र एफसी नामटारबीच खेल हुनेछ ।

जिल्ला लिग प्रतियोगितामा २८ क्लबहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ ।