हेटौंडाः हेटौंडा–११, थानाभर्याङस्थित राप्तीपुलमा म्याजिक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा थानाभर्याङका २६ वर्षीय श्रीराम परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
शुक्रबार साँझ ५ बजेर १० मिनेटको समयमा पुर्व–पश्चिम सडकखण्ड अन्तर्गत राप्तीपुलमा नवलपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना १५ प ४१५७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०२५७ नम्बरको म्याजिकले ठक्कर दिँदा मोटरसाइकल चालक परियार गम्भीर घाइते भएका थिए ।
टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका परियारलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा डाक्टरले ५ बजेर ५० मिनेटको समयमा मृत घोषणा गरेको हो । प्रहरीले म्याजिक चालकलाई नियन्त्रणमा लिएको छ । शव हेटौंडा अस्पतालमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।