हेटौंडा उपमहानगरपालिका ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले क्रिकेट खेललाई बेवास्ता गरेको भन्दै क्रिकेटकर्मीहरु रुष्ट बनेका छन् । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा क्रिकेट खेलका लागि बजेट नै नछुट्याएको र चासो नदिएको भन्दै क्रिकेटकर्मीहरु रुष्ट बनेका हुन् ।

मकवानपुर क्रिकेट संघका सचिव विनोद बानियाँले उपमहानगरपालिकाले अन्य खेलको तुलनामा क्रिकेटलाई कुनै चासो नदिएको बताउनुभयो । उपमहानगरपालिको चालु आर्थिक वर्षमा क्रिकेटका लागि कुनै कार्यक्रम र बजेट विनियोजन नगरेको उहाँले बताउनुभयो । अरु स्थानीय तहहरुमा विभिन्न प्रतियोगितामा सहयोग गर्ने नगरले क्रिकेटमा भने बेवास्ता गरेको उहाँको भनाइ छ ।

नगरले फुटबल, भलिबल, ब्याडमिन्टनलगायतको खेलमा मात्र प्राथमिकता दिएको उहाँले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा क्रिकेट प्रतियोगिता सञ्चालन खर्चका लागि भनेर ५ लाख रुपैयाँ विनियोजन गरेकोमा जिल्ला क्रिकेट संघले नगरकप क्रिकेट प्रतियोगिता सञ्चालन गरेको थियो । उपमहानगरपालिकाले यस पटक भने स्पष्टरुपमा क्रिकेटका लागि कुनै बजेट नराखेको तर विविध खेलकुद भनेर ५ लाखमात्र छुट्याएको सचिव बानियाँले बताउनुभयो । उक्त विविध खेलकुद शीर्षकमा राखिएको बजेट अरु खेलहरुले पनि माग गरेमा प्राप्त गर्न सक्नेछन् ।

उपमहानगरपालिकाले हेटौंडा–४, हुप्रचौरस्थित अभ्यासका लागि नेट निर्माण अलपत्र पार्दा समस्या भएको छ । गत आर्थिक वर्षमा नै क्रिकेट अभ्यास नेटको फाउन्डेसनका लागि १० लाख रुपैयाँ उपलब्ध गराएर अस्थायी नेट हटाइएको थियो । तर फाउन्डेसनको निर्माण कार्य सम्पन्न हुन बाँकी छ । चालु आर्थिक वर्षमा यसका लागि बजेट विनियोजन नगर्दा समस्या देखिएको छ ।

सचिव बानियाँले नियमित प्रशिक्षण हुने ठाउँमा यस वर्ष बजेट नै नभएपछि फाउन्डेसन निर्माण कार्य अगाडि बढ्न नसकेको बताउनुभयो । “खेलाडीहरुले पहिला पुरानो नेटमा भएपनि अभ्यास गरिरहेका थिए । अहिले त्यसलाई हटाएपछि पुरानो पनि भएन, नयाँ पनि बनेन”, सचिव बानियाँले भन्नुभयो, “निर्माण सम्पन्नका लागि बजेट विनियोजन नभएपछि अलपत्र भएको छ ।” उक्त फाउन्डेसन पूर्णरुपमा निर्माण हुन ३० लाख रुपैयाँ लाग्ने प्राविधिक अनुमान रहेको बानियाँको भनाइ छ ।

मकवानपुर जिल्ला क्रिकेट टिमका कप्तान सुमन सुनारले अहिले खेलाडीहरुले प्रशिक्षण गर्ने नेट नहुँदा समस्या भइरहेको बताउनुभयो । यसअघि हुप्रचौरमा अभ्यास नेट हुँदा सबैजनाले सजिलै अभ्यास गर्न पाउने गरेको भन्दै अहिले नहुँदा समस्या भइरहेको उहाँले बताउनुभयो । “अहिले हामीले हेटौंडा स्कुल अफ म्यानेजमेन्टको निजी नेटभित्र अभ्यास गर्नु परिरहेको छ । हामीलाई कलेजले निःशुल्क अभ्यासका लागि अवसर पनि दिएको छ । तर सबै जना गएर अभ्यास गर्न भने केही कठिन हुन्छ”, सुनारले भन्नुभयो । उहाँले क्रिकेट खेललाई विकास गराउने हो भने सरकारले क्रिकेट प्रतियोगिताहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिकाको खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरेले क्रिकेटका लागि ५ लाख बजेट विनियोजन गरेको बताउनुभयो । उक्त बजेटले नगरकप क्रिकेट प्रतियोगिता खेलकुद विकास समितिले गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा खेलकुदका लागि २ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन भएकोे छ । जसमा उपमेयरसँग युवा भन्ने कार्यक्रमअन्तर्गत भलिबल प्रतियोगिता शीर्षकमा ३९ लाख रुपैयाँ र मेयर कप फुटबलका लागि २० लाख बजेट विनियोजन भएको उहाँले बताउनुभयो ।

यस पटक मेयर कपमा बजेट बढेको हो । गत आर्थिक वर्षमा मेयर कप फुटबल प्रतियोगिताका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । उक्त बजेटले प्रतियोगिता सञ्चालन गर्दा घाटा भएको भन्दै यस आर्थिक वर्षमा ५ लाख रुपैयाँ थप भएको अध्यक्ष घिमिरेले बताउनुभयो । क्रिकेटमा बजेट कम हुनुमा नगर प्रमुख र उपप्रमुखसँग नै सोध्नुपर्ने उहाँले बताउनुभयो । ‘खेलका लागि बाँड्ने पैसाको कुरा त हामीलाई हुँदैन, मेयर र उपमेयरको सल्लाहबाटै हुन्छ’, अध्यक्ष घिमिरेले भन्नुभयो ।