म्यान अफ द म्याचलाई ट्रफी हस्तान्तरण गर्नुहुँदै राष्ट्रिय फुटबल टिमका खेलाडी अञ्जन विष्ट ।

हेटौँडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा पशुपति युवा क्लब र एफसी पोताला क्लब विजयी भएको छ ।

बिहीबार वर्षाका कारणले सञ्चालन हुन नसकेर शुक्रबार बिहान हेटौँडा–११, स्थित सिमलटार मैदानमा भएको खेलमा एफसी चाइना क्वाटरलाई १–० गोलअन्तरले हराउँदै पशुपति युवा क्लब विजयी भएको छ भने हेटौँडा–६, स्थित गौरीटार रंगशालामा भएको खेलमा विजय युथ क्लबलाई ५–३ गोलअन्तरले हराउँदै एफसी पोताला विजयी भएको हो । पशुपतिको जीतमा निश्चल मोक्तानले निर्णायक गोल गरे । म्यान अफ द म्याच निर्णायक गोलकर्ता मोक्तान घोषित भएका छन् । यस्तै एफसी पोतालाको तर्फबाट ऋषि मोक्तानले ४ गोल गरे ।

अहिले सिमलटार खेल मैदानमा परेली युवा क्लब र हेटौँडा भेट्रान्सबीच खेल भइरहेको छ भने केहीबेरपछि हेटौँडा फुटबल एकेडेमी र महावीर क्लबबीचको खेल हुनेछ । यस्तै गौरिटार रंगशालामा सक्षम युवा क्लब र एफसी इन्टरनेटबीच खेल भइरहेको छ भने यसपछि एफसी इन्टरनेट सिटी र न्यू डाँफे युवा क्लबबीच खेल हुने मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।

प्रतियोगितामा २८ क्लबहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ ।