सांकेतिक तस्वीर ।

हेटौँडाः बागमती प्रदेशको चार जिल्लामा विभिन्न घटनामा परी एकैदिन ८ जनाको मृत्यु भएको छ । मकवानपुरमा मात्रै ५ जना, सिन्धुली, रामेछाप र चितवनमा एक–एक जना गरी ८ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

सोमबार मकवानपुरको विभिन्न स्थानमा फरक–फरक घटनामा परी पाँच जनाको मृत्यु भएको छ । जसमध्ये दुई जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको हो भने तीन जनाको शव मृत अवस्था फेला पारेर बरामद गरेको हो । सोमबार बिहान सवारी दुर्घटनामा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१९, नेवारपानीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक हेटौंडा–९ का २५ वर्षीय अभिषेक सुवेदीको मृत्यु भएको थियो भने साँझ भीमफेदी–६, जुरिखेतस्थित हेटौंडा–भीमफेदी–काठमाडौं सडकखण्डबाट ५ सय मिटर तल खसेर मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका–१५ का ४० वर्षीय वृतनारायण यादवको मृत्यु भएको थियो ।

यस्तै हेटौँडा–२ मा डेरा गरी बस्ने भीमफेदी–५ स्थित धुसेनीका २४ वर्षीय कृष्ण रुचाल मगर कोठामै मृत अवस्थामा भेटिएका थिए । यस्तै प्रहरीले बागमती गाउँपालिका–४, चौरादोभानस्थित सनाखत नभएको एक महिलाको शव बरामद भएको छ । सोमबार नै बकैया गाउँपालिका–६ बाट खोलाले बगाएर बेत्तपा भएकी सोही वडाकी ४२ वर्षीय नानीमाया तितुङ बाराको कोहल्बीमा मृत भेटिएकी थिइन् ।

सोमबार सिन्धुलीको तीनपाटन गाउँपालिका–८, पिप्लेस्थित गिरीटोलमा एक वृद्धको भीरबाट लडेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । मृत्यु हुने स्थानीय ९० वर्षीय वृद्ध पन्चे तामाङ रहेको प्रहरीले जनाएको छ । वृद्ध तामाङ शनिबारदेखि घरबाट निस्केकोमा फर्केर नआएपछि खोजतलास गर्ने क्रममा घरबाट १ किलोमिटर पर भीरबाट लडेर मृत अवस्था भेटिएको हो ।

यस्तै सोमबार रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–५, रजमन्टार डाँडागाउँमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय भीम बहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । आफ्नै घरको कोठामा बिजुलीको तारबाट अचानक करेन्ट लागेर वृद्धको मृत्यु भएको हो ।

सोमबार चितवनको भरतपुर महानगरपालिका–१४, सुन्दरबस्तीस्थित केरुङ्गा घोलमा एक पुरुष मृत फेला परेका छन् । भरतपुर–१४, शान्तिपुरका ४८ वर्षीय शिवहरी कोईराला मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सोमबार बिहान १० बजे शव मुचुल्कापश्चात पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।