उपाधि विजेता मेन्था क्लबका खेलाडीलाई शिल्ड हस्तान्तरण गरिँदै ।

मनहरीः मकवानपुरको मनहरी गाउँपालिकामा भएको प्रथम संस्करणको जोन राना मगर स्मृति फुटबल प्रतियोगिताको उपाधि राक्सिराङ गाउँपालिकाको एफसी मेन्था क्लबले हात पारेको छ । सयपत्री युवा क्लबको आयोजनामा सोमबार गाउँपालिकाको जोगिताल खेल मैदानमा भएको फाइनल खेलमा मनहरीको रमनटार क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै मेन्थाले उपाधि हात पारेको हो ।

उपाधि हात पारेसँगै मेन्थाले ३० हजार रुपैयाँ नगद राशिसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता रमनटार १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । पहिलो हाफको नवौं मिनेटमा मेन्थाका अमित चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने रमनटारबाट राजन गोलले दोस्रो हाफको १०औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याएका थिए ।

निर्धारित समयको खेल बरामरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा दुबै पक्षबाट पाँच–पाँच जना खेलाडीहरुले बल प्रहार गर्दा दुबै पक्षको बराबरी गोल भएपछि नतीजाका लागि सडन डेथको सहारा लिनुपरेको थियो । सडन डेथमा दुबै पक्षबाट दुई दुई जना खेलाडीले बल प्रहार गरेपछि मेन्थाका खेलाडी रवी लो तामाङको प्रहार गोलमा परिणत भएर निर्णायक गोल बन्न पुगेको हो । म्यान अफ उपाधि विजेता टिमको राजन गोले घोषित भएका छन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै मेन्थाका अमित चौधरीले दुई हजार रुपैयाँ नगद राशि र ट्रफि प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक रमनटारका साजन लोप्चन र सर्वाधिक गोलकर्ता सन्तोष थिङ घोषित भएका छन् । गोलरक्षक लोप्चनले दुई हजार रुपैयाँ र शिल्ड प्राप्त गरेका छन् भने गोलकर्ता थिङले दुई हजार रुपैयाँ र गोल्डेन बुट ट्रफी प्राप्त गरेका छन् ।

सयपत्री क्लबका अध्यक्ष सुरज श्रेष्ठको सभाध्यक्षमा प्रतियोगिताको पुरस्कार वितरण तथा समापन कार्यक्रम भएको हो । समापन समारोहमा, वडा–६ का अध्यक्ष युवराज थपलिया, गाउँपालिका खेलकुद विकास समितिका संयोजक बीरु लामा थिङ, कार्यक्रम संयोजक वसन्त लामा लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । केदार योञ्जनको संयोजकत्वमा सञ्चालन भएको प्रतियोगितामा २१ क्लबहरुको सहभागिता रहेको थियो ।