हेटौंडाः हेटौंडा–भीमफेदी–काठमाडौं सडकखण्ड अन्तर्गत जुरीखेतमा मोटरसाइकल भीरबाट खसेको छ । सोमबार दिउँसो ४ बजेर ३५ मिनेटको समयमा काठमाडौंबाट हेटौंडा आइरहेको प्रदेशको २–०३–०१२ १ प ३४७४ नम्बरको मोटरसाइकल भीमफेदी–६, जुरीखेत ११ घुम्ती स्थित भीरबाट खसेको हो ।

मोटरसाइकल सडकखण्डबाट ५ सय मिटर तल खस्दा चालक पर्साको वीरगञ्ज महानगरपालिका–१५ का ४० वर्षीय वृत नारायण यादव र पछाडि सवार बाराको फेटा गाउँपालिका–७ का ३६वर्षीय रमेश पाण्डे गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

घटना भएको भन्ने खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली खटिएर घाइतेहरुलाई उपचारका लागि हेटौंडा ल्याइरहेको जनाएको छ । चालक यादवको अवस्था गम्भीर रहेको र पछाडि सवार पाण्डेको अवस्था मध्यम रहेको जनाएको छ ।