हेटौँडाः भदौ १० गते सोमबारका दिन हेटौँडा–१०, बसपार्कस्थित होटल रत्नामा एलिसा न्यौपानेको हत्याका अभियुक्त ३२ वर्षीय समीर खानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ ६ बजेको समयमा हेटौँडा–५, लट्टिनाथमार्गबाट खानलाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
हेटौँडा–४, कमलडाँडा निवासी खानले भदौ १० गते सोमबार साँझ होटलमा एलिसाको हत्या गरी फरार भएका थिए । विवाहित खानले हेटौँडा–११, नवलपुरकी २२ वर्षीया एलिषासँगको अवैधानिक सम्बन्ध राखी सन्तान समेत रहेको बुझिएको छ । गत सोमबार रत्ना होटलमा साँझ ५ बजेको समयमा प्रवेश गरेर खानले एलिषाको हत्या गरी साँझ ७ बजेको समयमै फरार भएका थिए ।
घट्नाको अनुसन्धानको क्रममा अभियुक्त खानलाई भाग्ने कार्यमा सहयोग पुर्याएको भन्दै खानकी आमा ५५ वर्षीया सैरुन खान, श्रीमति २६ वर्षीया रविना खातुनलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको जनाएको छ । यस्तै खानका ससुरा पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका–३०, लालपर्साका ५६ वर्षीय लालबाबु खाँ पैठान र जेठान ३० वर्षीय फैयाज अहमदलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।