नेपाली काँग्रेस मकवानपुर तुलानात्मक रुपमा बलियो राजनीतिक शक्ति हो भन्दा हुन्छ । मकवानपुर काँग्रेस वर्तमान अवस्थामा संगठनात्मक रुपले बलियो शक्ति भए तापनि पार्टी भित्रको गुटगत राजनीतिले काँग्रेसको शक्ति क्षयीकरण भएको सबैले अनूभूति गरेका छन् । मकवानपुरमा कुनैबेला काँग्रेसलाई जिस्काएर ‘कमजोर काँग्रेस भित्र बलियो झगडा छ’ भनेर कटाक्ष गरिन्थ्यो । गिरिजाप्रसाद कै पालामा गुटगत राजनीति झन मौलाएको थियो । तात्कालिन अवस्थामा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाका तीनथरि धार थियो । मकवानपुरमै तात्कालिन पार्टी सभापति भैसकेको विश्वराज उप्रेति नै स्वतन्त्र चुनाव लडेका थिए । ‘रुख होईन मुख हेरेर भोट हाल’ भन्ने नारा प्रचलित थियो त्यसबेला । काँग्रेसका नेता लौहपुरुष गणेशमान सिंहले नै विद्रोह गरेका थिए । त्यो कालखण्ड पार गरेर काँग्रेस नयाँ राजनीतिक चरणमा प्रवेश ग¥यो ।

सुशील, रामचन्द्रलाई पछि पारेर शेरबहादुरले पार्टीको नेतृत्व मात्र गरेनन् पाँच पटक प्रधानमन्त्री भए । मुलुकमा गणतन्त्र आयो । माओवादी हिंसात्मक बाटो त्याग गरी शान्ति प्रक्रिया हुँदै आजको अवस्थासम्म आईपुग्यो । समयक्रमसँगै कांग्रेस मकवानपुरमा पनि धेरै बदलाव आयो । राप्तीमा धेरै पानि बग्यो, काँग्रेसमा पात्रहरु फेरिँदै गए, नयाँ पात्रहरुको उदय भयो । शेरबहादुरकै कित्तामा रहेका यहाँका नेताद्वय महालक्ष्मी उपाध्याय ‘डीना’ र ईन्द्र बहादुर बानियाँ दुई गुटमा धु्रवीकृत हुन पुगे । आज यि दुवै नेता एकले अर्कोलाई सिध्याउने खेलमा उद्दत देखिएका छन् । यि पात्रको जुँगाको लडाईले कांग्रेसलाई ठूलो नोक्सानी व्यहोर्नु परेको छ । आज एउटा काँग्रेस आफ्नै नेतालाई हराएर दंग परेर हिँडेको छ, मानौं उसले ठुलै युद्ध जितेको होस् । यो दुर्भाग्यपूर्ण अवस्था किन आयो स्पष्ट छ अंहकार दम्भ ।

मकवानपुरको राजनीतिक परिदृश्यमा एमाले बलियो शक्ति हो भने कुनैबेला राप्रपा दोश्रो बलियो शक्तिको रुपमा रहेको थियो । राप्रपा भित्रको उतारचढावले यो पार्टी विस्तारै गुट फुटको राजनीतिले क्रमशः विभाजित देखिन थाल्यो ठिक त्यहीबेला तात्कालिन काँग्रेस सभापति रघुरमण न्यौपानेले राप्रपाका धेरै नेता आनन्द कठायत, भिम बहादुर, सूर्यबहादुर र अन्य थुप्रै बहादुरहरुलाई काँग्रेस भित्र ल्याउने काम गरेपछि ईन्द्रबहादुर बानियाँ सांसद हुँदै गृहराज्य मन्त्री, पर्यटन राज्यमन्त्री भएपछि काँग्रेसको लोकप्रियता बढ्यो र ईन्द्रबहादुर बानियाँ स्थापित नेता बने । प्रकारान्तरले यो पार्टी एमालेलाई टक्कर दिने पार्टी बन्यो । केन्द्रमा जति वटा गुट भए तापनि मकवानपुरमा शेरबहादुर प्यानल नै बलियो देखिन्छ । ईन्द्र, आनन्द परराजूली र केन्द्रिय नेता डीना सबै एउटै कित्ता शेरबहादुर लविका हुन् ।

२०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा काँग्रेसबाट मेयर उम्मेदवार आनन्द पराजुली झिनो मतले पराजित भए । त्यसपछिको आन्तरिक जोड घटाउले ईन्द्रबहादुर बानिया र आनन्द पराजुली बीचको तिक्तता बढ्न थाल्यो । पार्टीको जिल्ला अधिवेशनमा तल्लो तहबाटै कसलाई ल्याउने कसलाई हराउने तीव्र प्रतिस्पर्धा देखियो । नेता, कार्यकर्ताको वुथमै राजनीति सिध्याउने खेलको योजना बन्यो । काँग्रेसका सभापति भैसकेको पुराना लोकप्रिय नेता रामचन्द्र माईकल नै वुथबाट झिनो मतले जिते । आनन्द र ईन्द्रको बीचमा पदीय भागवण्डामा बिमति देखियो । ईन्द्र आनन्दलाई मेयरको उम्मेदवार र पार्टीको उपाध्यक्ष बनाउन चाहन्थे । यिनी पार्टी अध्यक्ष पुराना नेता विष्णु लामिछानेलाई बनाउन चाहन्थे । तर आनन्दले पार्टी सभापति नै उठ्ने जोड गरेपछि ईन्द्रले बुद्ध लामालाई उठाए । ५१ प्रतिशत मत ल्याउनु पर्ने कांग्रेसमा अर्का उम्मेदवार जयराम लामिछाने समेत उम्मेदवार भए । पहिलो चरणमा परिणाम नआएपछि दोश्रो चरणमा बुद्धले बाजी मारे । त्यसपछी कांग्रेस भित्रको तिक्तता झन प्रवल भएर आयो ।

डिना र ईन्द्र बीच स्पष्ट ध्रुवीकरण प्रारम्भ भयो । गएको स्थानीय निर्वाचनमा माओवादी, समाजवादी र काँग्रेसको गठबन्धनमा काँग्रेसले पाउनु पर्ने टिकट समाजवादीलाई दिएर आनन्द पराजुलीलाई चैट बनाईयो । गठबन्धनको कारण समाजवादीको उम्मेदवारले चुनाव त जित्यो तर बडो मुस्किलले त्यो जित हासिल भयो किनभने कांग्रेस भित्रको एउटा तप्काको असहयोग रहेको थियो । प्रदेश र संघीय चुनावसम्म आईपुग्दा काँग्रेस भित्रको लडाई मुखर भएर प्रकट भयो । टिकटका लागि फेरि लबिङ शुरू भयो । प्रदेशमा आनन्दलाई केन्द्रीय सहमहामन्त्री डिनाको सहयोग समर्थन रह्यो भने पार्टी सभापति बुद्ध लामालाई प्रदेश अध्यक्ष ईन्द्रबहादुर बानियाको समर्थन रह्यो ।

सांसदको उम्मेदवार समेत रहेकी डिनाले आनन्द पराजुलीको उम्मेदवारी आफ्नो प्रतिष्ठाको विषय बनाईन् । आफैं केन्द्रिय निर्वाचनमा रहेको र शेरबहादुरसँग निकट सम्बन्ध रहेकोले आनन्द पराजुलीले टिकट नपाए आफूपनि उम्मेदवार नहुने अडान लिएपछि टिकट आनन्दको पक्षमा आयो । दुबै शक्तिले फायर खोलिसकेको पृष्ठभूमि प्रदेश र संघीय संसदको निर्वाचन रोचक नहुने कुरै भएन । लडाई काँग्रेस भर्सेस काँग्रेस हुने नै भयो । थुप्रै अपवित्र साँठगाँठ बन्यो । पैसाको खोला बग्यो, स्थानीय तहको निर्वाचनमा १६ हजार मतले अगाडि रहेको क्षेत्रमा डिना उपाध्याय र प्रदेशमा आनन्द पराजुली पराजित हुन पुगे । ओपन सेक्रेट नै छ, स्पष्ट काँग्रेसले काँग्रेसलाई नराम्ररी पराजित बनायो । काँग्रेसले आफ्नै आङ कनाएर छारो उडाउने काम ग¥यो । यसले झन् सम्बन्धमा फाटो र तिक्त हुन पुग्यो । फलतः काँग्रेसको बागमति प्रदेश संसदीय दलमा बहादुर सिंह लामालाई जिताएर एकथरिले खुच्चिङ गर्ने काम गरे । तर यो परिणामले मकवानपुरलाई फाईदा भएन । जसरी डोरमणि पौडेल मुख्यमन्त्री भएकै कारण हेटौँडा राजधानी भयो, ईन्द्रबहादुर बानियाँ हुँदा मकवानपुरलाई नोक्सान हुँदैन थियो । हाम्रै जिल्लावासी भन्न पाइन्थ्यो ।

सबै मिल्न सकेको भए, सबै एकताबद्ध भएर अघि बढेको भए आज मकवानपुर काँग्रेसमय हुने थियो । केन्द्रीय मन्त्री, मुख्यमन्त्री, प्रदेशमन्त्री र मेयर सम्भवतः सबै काँग्रेसकै प्रतिनिधि हुन सक्थ्यो । दूर्भाग्य त्यो हुन सकेन । अहिले २०८४ को निर्वाचनको खुब चर्चा हुन्छ । यहि ताल रहे मकवानपुर काँग्रेसलाई २०८४ न २०८५ । तसर्थ काँग्रेसले यो हारबाट सिक्न जरुरी छ । गुटगत राजनीति त्यागौं सबैलाई मिलाएर लिएर जान काँग्रेसका अग्रज नेता रामचन्द्र माईकल, रघुरमण, उमा दाहालहरुले अभिभावकत्वको भूमिका निर्वाह गर्न सक्नुपर्छ भने, तरुणहरुले पार्टी भित्र सशक्त हस्तक्षेप गर्न जरुरी छ । सधैभरि अन्तरघात र अर्काे उम्मेदवारलाई जिताएर हाँसोको विषय बन्नु, बनाउनु अशोभनीय कदम हो । तसर्थ काँग्रेस सच्चिनु जरूरी छ । कार्यकर्ताले चाहे नेता लाईनमा आउँछन् नै, कार्यकर्ताहरुले बैलैमा सोचौं । आगे जो विचार… ।