हेटौँडाः मकवानपुर जिल्लामा किशोरीहरुको आमा बन्ने क्रम बढ्दै गएको छ । बालविवाह कानुनीरुपमा दण्डनीय भए पनि बालिका वा किशोरीहरु विवाह मात्रै नभई विवाह गरेर आमा नै बनिरहेका छन् । सानै उमेरमा विवाह गर्ने क्रमका कमी नआएका कारण पनि किशोरी आमा बन्नेको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को साउन महिनामा हेटौंडा अस्पतालमा २६ जना किशोरीहरु आमा बनेका छन् । एक महिनाको अवधिमा २० वर्षभन्दा कम उमेरका २६ जना किशोरी आमा बनेका हुन् ।
अस्पतालमा ३ सय १२ जना गर्भवतीले सेवा लिँदा २६ जना किशोरी रहेको हेटौंडा अस्पतालले जनाएको छ । एक सय ८९ जना महिलाको सामान्य अवस्थामा बच्चा निकालिएकोमा ५ जना महिलाको अवस्था जटिल रहेको थियो । एक सय १५ जना महिलाको शल्यक्रिया गरेर बच्चा निकाल्नुपरेको अस्पतालले जानकारी दिएको छ । अस्पतालको तथ्याङ्कअनुसार अस्पतालमा एक सय ३२ जना बालिका र एक सय ७४ जना बालकको जन्म भएको छ । एक महिनाको अवधिमा अस्पतालमा २३ जना महिलाले प्याक (गर्भपतन) गराएका थिए ।
हेटौंडा अस्पतालमा मकवानपुर जिल्ला बाहिरकाले पनि प्रसुति सेवा लिन आउने गरेका छन् । अहिले २० वर्षभन्दा कम उमेरका किशोरकिशोरीहरु आमाबाबु बनिरहेका छन् । खेलेर रमाउनुपर्ने उमेरमा किशोरीहरु बच्चा जन्माई आमा बनिरहेका हुन् । किशोरीहरु आमा बनिरहँदा विभिन्न चुनौती देखिइरहेका छन् । बालविवाह यसको मुख्य कारण हो । सरकारले बालविवाह रोकथामका लागि पर्याप्त कानुन निर्माण गरे पनि बालविवाह अन्त्य हुन सकेको छैन । बालविवाह भइरहेकै कारण किशोरीहरु आमा बन्ने क्रमले व्यापकता पाइरहेको हो ।
मकवानपुर जिल्लाको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउन महिनामा ३ सय ६१ जनाभन्दा धेरै किशोरी आमा बनेका छन् । सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका किशोरी आमा बनेका हुन् । एक महिनाको अवधिमा हेटौंडाका २ सय ८७ जना किशोरी आमा बनेको हेटौंडा अस्पतालको तथ्याङ्क छ । किशोरावस्थामा नै आमा बन्नेमा कैलाश गाउँपालिकाका ३० जना, राक्सिराङ गाउँपालिकाका १७ जना, भीमफेदी गाउँपालिकाका ११ जना र बागमती गाउँपालिकाका ९ जना छन् । यस्तै, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, मनहरी गाउँपालिकाका २ जना र थाहा नगरपालिकाका एक जना किशोरी आमा बनेका छन् ।
गत आर्थिक वर्ष २०८०/०८१ मा मकवानपुरका एक हजार २ सय ७२ जना किशोरी आमा बनेका थिए । जिल्लामा सबैभन्दा बढि हेटौंडा उपमहानगरपालिकाका किशोरी आमा बनेका थिए । गत वर्ष हेटौडामा २० वर्षभन्दा कम उमेरका ४ सय २१ जना किशोरी आमा बनेका थिए । यस्तै, गत आर्थिक वर्ष कैलाश गाउँपालिकाका ३ सय ११ जना, राक्सिराङ गाउँपालिकाका एक सय १२ जना, बागमती गाउँपालिकाका एक सय ३ जना र मनहरी गाउँपालिलाका ९२ जना किशोरी आमा बनेका थिए ।
भीमफेदी गाउँपालिकाका ८५ जना, थाहा नगरपालिकाका ४७ जना, इन्द्रसरोवरका २८ जना किशोरी आमा बनेका थिए । मकवानपुरगढी गाउँपालिकाको यकिन तथ्याङ्क नभएको पालिकाका स्वास्थ्य प्रमुख धु्रव लामिछानेले बताउनुभयो । पालिकाका कतिपय बासिन्दाले नागरितासमेत नबनाएका कारण तथ्याङ्क एकिन नभएको उहाँको भनाइ छ । केहि महिलाहरुको नागरिताअनुसार उमेर नदेखिने लामिछानेले बताउनुभयो । नागरितामा धेरैले उमेर बढाएका कारण यस विषय चुनौतीपूर्ण भएको उहाँको भनाइ छ । नागरिकता नभएकाहरुलाई जन्मदर्ता माग गर्दा जन्मदर्ता नल्याउने उहाँले बताउनुभयो । नागरिता नभएकाहरु सेवाबाट पनि वञ्चित भएका छन् । लामिछानेका अनुसार पालिकाले किशोर–किशोरीमैत्री स्वास्थ्य संघ बनाएको छ । विद्यार्थी–नर्स कार्यक्रम गरी विद्यार्थीहरुलाई शिक्षा प्रदान गरिने उहाँले बताउनुभयो ।
यसैगरी, गत आर्थिक वर्ष २०८०/०८१ मा हेटौंडा अस्पतालबाट २० वर्षभन्दा कम उमेर समूहका २ सय ४५ जना किशोरीहरु आमा बनेको हेटौंडा अस्पतालको तथ्याङ्कले देखाएको हो । गत आर्थिक वर्षको साउन महिनामा २७ जना किशोरीहरु आमा बनेका थिए । यस्तै, भदौ महिनामा २५ जना, असोज महिनामा ३३ जना र कार्तिक महिनामा २२ जना किशोरी आमा बनेका थिए । हेटौंडा अस्पतालबाट प्रसुति सेवा लिनेमध्ये मंसिर महिनामा २३ र पुस महिनामा १२ जना किशोरीले शिशु जन्माएका हुन् । यस्तै, माघ महिनामा १६ जना, फागुन महिनामा १७ जना, चैत महिनामा २० जना, वैशाख महिनामा १९ जना, जेठ महिनामा १३ जना र असार महिनामा १८ जना किशोरी आमा बनेका थिए ।
किशोरी अवस्थामै आमा बनिरहँदा किशोरीहरु पढ्नबाट वञ्चित भएका छन् । किशोरीमात्र नभई किशोरहरु पनि उमेर नपुग्दै परिवारको जिम्मेवारी लिन बाध्य भएका छन् भने पूरा अध्यन नगरी वैदेशिक रोजगारीमा गएका छन् । २० वर्ष मुनिका गर्भवती महिलाहरू गर्भावस्थाको समयमा रक्तस्राव, विषाक्तता, लामो र कठिन श्रम, गम्भीर रक्तअल्पता, र अपाङ्गतालगायतका मृत्यु र रोगहरूको बढी जोखिममा हुन्छन् । किशोरावस्थामा बच्चा जन्माउँदा पाठेघरको समस्या हुने चिकित्सकहरुको भनाइ छ । किशोरी आमाले जन्माएको शिशुमा पनि विभिन्न समस्या देखिने भएकाले किशोरकिशोरीहरुलाई सचेत गराउन आवश्यक रहेको चिकित्सकहरुले बताएका छन् ।