प्रदर्शनी तथा बिक्री मेलासम्बन्धी जानकारी गराउनुहुँदै बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठ ।

हेटौंडाः जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरले सहकारीमार्फत् उत्पादित वस्तु प्रदर्शनी तथा बिक्री मेला आयोजना गर्ने भएको छ । शनिबार हरितालिका तीजको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा मेलाको तयारीबारे जानकारी गराउने कार्यक्रममा संघकी अध्यक्ष कल्पना श्रेष्ठले मेलाबारे जानकारी गराउनुभयो ।

सहकारीमार्फत् उद्यम गर्ने सदस्यहरुलाई प्रोत्साहन गर्न र उद्यम प्रवद्र्धन गर्न संघले आगामी मंसिर २८ गतेदेखि ३० गतेसम्म वस्तु प्रदर्शनी तथा बिक्री मेला आयोजना गर्न लागेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । मेलामा सदस्य संस्थाहरुबाट ३५ वटा स्टल, विभिन्न विषयगत संघसंस्था र स्थानीय तहबाट १० वटा स्टल, अन्तरजिल्लाका ३ वटा, समयसापेक्ष अत्यावश्यक वस्तुको ५ वटा र अन्य दुई वटा स्टल रहने उहाँले बताउनुभयो ।

स्टलमा हस्तकलाका सामग्रीहरु फोटो फ्रेम, मुढा, मायाको चिनो, ठेकी, नाम्लो र डोकोलगायत सामग्री राखिनेछ । खाद्य सामग्रीहरुमा अचार, गुन्द्रुक, खुर्सानी, फापर, कोदो, मह, तेल र दुग्धजन्य सामग्री राखिने भएको छ । मेलामा सहकारी कविता प्रतियोगिता, वक्तृत्वकला र सहकारी हाजिरीजवाफ प्रतियोेगिता पनि आयोजना हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । संघले मेला संघकै नवनिर्मित भवनमा आयोजना गर्ने तयारी गरेको छ ।

कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, इन्द्रसरोवर गाउँपालिकाकी उपप्रमुख उमाकुमारी लामा, संघकी सल्लाहकार पार्वती रानालगायतको आतिथ्य रहेको थियो ।