हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिकाको विकट वडाका गाउँमा नेपाल टेलिकमको सेवा विस्तार भएको छ । शुक्रबार भीमफेदी–३, ओखरेबाट टेलिकमले सेवा विस्तार गरेको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो ।
पालिकाको वडा नम्बर ३ स्थित इक्चुङ लगायतका बस्तिहरुमा मोबाइल फोनको टावर नटिप्ने समस्या भएपछि उक्त समस्या समाधान गर्न गाउँपालिका र नेपाल टेलिकम बीच २०७८ मंसिरमा दुईपक्षीय सम्झौता भएको थियो । गाउँपालिका र दुरसञ्चार संस्था हेटौंडा बीच २०७८ मै टावर राख्ने जग्गा सम्झौता भएपनि प्राविधिक समस्याका कारण सेवा प्रवाहमा ढिलाई भएको अध्यक्ष लामाले बताउनुभयो । सेवा विस्तारसँगै मकवानपुरगढीको वडा नम्ब ८ का ओखरे, बोखर क्षेत्रमा पनि टावर नटिप्ने समस्या हटेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार अझै पनि पालिकाभित्रका वडा नम्बर ९ स्थित बर्देउ क्षेत्र, वडा नम्बर १ स्थित पसेरी झोर क्षेत्र र ८ नम्बरस्थित महवीर, धार्के क्षेत्रमा सञ्चारको समस्यामा छ । उक्त स्थानहरुको सञ्चार समस्यालाई समाधान गर्न नेपाल टेलिकमसँग छलफल गरिरहेको अध्यक्ष लामाको भनाई छ । नेपाल टेलिकमले राखेको टावरको उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको समेत उपस्थिति रहेको थियो ।